Breaking News

जलविद्युत आयोजना ओगटेर व्यापार गर्नेको लाइसेन्स खारेज हुने

काठमाण्डौ, ९ चैत्र । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले जलविद्युत आयोजना ओगटेर व्यापार गर्नेको लाइसेन्स खारेज हुने बताएका छन् ।

आर्थिक पत्रकार समूह (सेजन)ले शुक्रबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धिका लागि जलविद्युत’ विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री पुनले आयोजना बनाउने वास्तविक प्रवर्द्धकलार्इ मात्र लाइसेन्स दिने उल्लेख गरे । १० वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक पर्ने बताउँदै मन्त्री पुनले सरकारको ध्यान ऊर्जा उत्पादनमा जाने स्पष्ट पारे ।

मन्त्री पुनले आर्थिक समृद्धि सरकारको लक्ष्य भएको भन्दै त्यसको आधार ऊर्जा क्षेत्र भएको जिकिर गरे । स्वदेशी र विदेशी निजी क्षेत्रसँग जलविद्युत् उत्पादनमा सहकार्य गर्दै सरकार अघि बढ्ने र त्यसका लागि देखिएका कानुनी जटिलताहरूलाई समाधान गर्दै जाने उनले उल्लेख गरे । उनले निर्माणाधीन जलविद्युत् आयोजनामा परेको अप्ठ्यारका बारेमा पनि सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले जलविद्युत क्षेत्रमा लगानी गर्ने प्रशस्त आधारहरू रहेपनि नीतिगत जटिलता रहेको गुनासो गरेका थिए । १० वर्षमा १० हजार भन्दा बढी मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य हासिल गर्नका लागि परिणाममुखी भएर अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ ।

shares