सिंहदरबारबाट मोटरसाइकल चोर्ने २ जना पक्राउ

काठमाण्डौ, ९ चैत्र । सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

गत चैत्र १ गते महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल चोरी गर्ने २ जनालार्इ प्रहरीले पक्राउ गरेको हो ।

सोही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भर्इ चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार पक्राउ परेका छन् ।

मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । सोधपुछको क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुलेपछि इलाका प्रहरी कार्यालय टाँडी चितवनको सहयोगमा मोटरसाइकलसहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।