Breaking News

वडाध्यक्ष सुनबहादुरसहित मानव बेचबिखन मुद्दामा ३ जना दोषी ठहर

काठमाण्डौ, ९ चैत्र । जिल्ला अदालत नुवाकोटले दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गरेको छ ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले तमाङसहित ३ जनालाई दोषी ठहर गरेको हो । जिल्ला अदालतले वडाअध्यक्ष तमाङलाई विभिन्न अभियोगमा कुल ३७ वर्ष कैद सँजायसहित २ लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।

भारतमा लगेर चेलीबेटी बेचबिखन, कोठी सञ्चालन र जबरजस्ती मानव बेचबिखन उद्योग सञ्चालन गरेकोलगायत अभियोगमा प्रमाणसहित जिल्ला अदालतले उनीसँगै शुकमान लामा र टिकाराम तमाङलाई पनि दोषी ठहर गर्दै जनही ३१ वर्ष र ३० वर्ष कैद र समान २ लाख ५० हजार जरिवाना गर्ने फैसला सुनाएको छ ।

भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनै जना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले गत पुस ७ गते पक्राउ गरेको थियो ।

shares