लडाईं माडको कि जाँडको ?

– संकेत कोइराला

राजा विक्रमादित्यले एकपल्ट कालिदाससँग भने– ‘तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरूप तिम्रो रूप, शरीर कालो र कुरूप छ ।’ यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई ज्यादै तिर्खा लाग्यो । कालिदासले राजाका लागि माटो र सुनको दुईवटा भांडोमा पानी ल्याएर भने– ‘महाराज ! यी दुई भाँडा मध्ये कुन भाँडाको पानी पिउन चाहनुहुन्छ ?’ राजाले भने– ‘माटाकै भाँडाको पानी शितल छ । त्यसैले म त्यही पिउन चाहन्छु ।’ मौका यही हो भन्ठानेर कालिदासले पालको पैंचो तिरे– ‘महाराज, जसरी शितलता भाँडाको सौन्दर्यमाथि निर्भर गर्दैन, त्यसरी नै बुद्धि र हार्दिकता पनि शरीरको सौन्दर्यमाथि निर्भर गर्दैन ।’

भनिन्छ–मानिसका १८ किसिमका परीक्षा हुन्छन् । १७ वटा परीक्षामा सवोत्कृष्ट ठहरिएको मानिस १८ औं परीक्षामा चिप्लिन सक्छ । त्यो हो– द्रव्य मोह । अबको पेचिलो प्रश्न उही हो– अब हामी माडका लागि लड्ने कि जाँडका लागि ?

‘निरंकुश’ भनिने पञ्चायती व्यवस्थाले बीपीलाई उपचार गर्न सरकारी खर्चमा अमेरिका पठाएको थियो । गिरिजाप्रसाद कोइरालाकी पत्नी शुष्मा कोइराला स्टोभबाट शरीरमा सल्किएको आगोले घाइते हुँदा पञ्चायतका जल्दाबल्दा प्रधानमन्त्री सूर्यबहादुर थापाले अबगाल खेपेरै भएपनि हेलिकोप्टरबाट विराटनगर ओखती पठाएका थिए । बीपीसंग राजाको मनमुटाव भएको भेउ पाएका पञ्चायती चण्डमुण्डले प्रज्ञा प्रतिष्ठानमा साहित्यकारको लहरबाट बीपीको फोटो लुकाउँदा उल्टो हुर्मत लिएका राजा महेन्द्रले बीपीको फोटो राख्न लगाएर राजनीतिक उच्चताको परिचय दिए । एउटै पार्टीका बीपी–सुवर्णशम्शेर बाँचुन्जेल धेरै विषयमा मत मतान्तर राख्थे तर निर्णायक घडीमा त्यागका लागि हानाथाप चल्थ्यो । प्रजातन्त्रका लागि प्रवास जाने वीपीको निर्णयलाई आफ्नै धर्ती नछोडेर किसुनजीले अवज्ञा गरे । तर जीवनको उत्तरार्द्धमा तिनै असहमत कृष्णप्रसादलाई बीपीले पार्टीको साँचो सुम्पिए । बीपीप्रति अगाध स्नेह राख्ने गणेशमानका लागि प्रधानमन्त्रीको इतिहासभन्दा कृष्णप्रसादप्रतिको विश्वास भरपर्दो भएर नै त प्रधानमन्त्री पद लोभै नगरी हस्तान्तरण गरिदिए ।

लोकतन्त्र र सुशासन एक अर्काका पर्यायवाची शब्द हुन् । साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । हाम्रो समाजमा अब विकास त धेरै टाढा भयो, नागरिक शिक्षाको अभियान बाञ्छनीय बन्दै गएको छ । नयाँपुस्ता समाजका लागि नभएर सूचनाप्रविधि चलाउने रोबर्ट मात्र भए । मान, मर्यादा, नैतिकता मान्छेका नभएर निर्धो र लाचारका आभूषण भएका छन् । धनीले सम्पति त ओगटेको छ तर चुल्होको खर्चलाई उसकै कुकुरको दानापानी खर्चले उछिनेको छ । गरिबलाई त धनीको मिसकल आउला तर धनीलाई आउने यमराजको मिसकलबाट जोगिन उसले गरेको भगीरथ प्रयास अब विडम्वनापूर्ण बन्दै गएको छ ।

शरीरमा रोगले राष्ट्रिय सहमति गरेपछि मर्निङवाकका नाममा निस्कने अधिकांश धनीहरू सुपरमार्केटबाट आफूलाई भन्दा टमीहरूलाई महँगा खानेकुरा किन्छन् । थुक निल्दै चिल्ला, गुलिया र मिठा खानेकुरा टमीलाई ख्वाउँछन । त्यसपछि ‘सुगर फ्रि’ नामको मैदाको पाप्रो चपाएर ‘ब्रेकफास्ट’ कोर्स पूरा गर्छन् । काखमा टमीलाई लिएर परदेशमा रहेका नातिनातिनासंग भिडियो च्याट गर्नु उनीहरूको दैनिकी बन्दैछ । छोराछोरी, नातिनातिना त छन् तर खलै उठेर युरोप, अमेरिका भासिएका छन् । घरमा विपत्ति पर्यो भने परिवारका कसैको भर छैन । हजुरबालाई आईसीयूमा राखेको खबर विदेशमा रहेको नातिले पायो भने फेसबुकमा दुख प्रकट गरेर आफ्नो कर्तव्य निभाउँछ । हो, त्यसैले त फेसबुके नातिभन्दा त्यस्ता धनीहरूलाई आफ्नै टमीहरूको भर हुन थालेको छ । कम्तिमा यसले स्वामीभक्ति त छोड्दैन् ।

गाउँको च्याँख्ला र ढिंडोबाट जोगिन शहर छिरेका यिनीहरूको दुख सिंहदरबार जत्रो घर र शहरका खाल्डाखुल्डी थाहा नहुने खालका विलासी गाडीमा चढ्दा पनि दुखको पहाड उन्नाइस नभएर एक्काइसमा उक्लेको छ । प्रारब्धले चुचे ढुंगो उही टुंगोमा पुर्याएको छ । पुँडे गोरुले चोक्करमा नरुचाउने पिठोले पकाएको रोटी ‘अर्गानिक’ का नाममा फूर्ति लाउँदै निल्नु धेरै सुकिला मुकिला अनाम पात्रहरूका लागि आफैंलाई चित्त बुझाउने मेलो भएको छ । अरु त अरु तीन करोड जनसंख्यामध्ये राजा हुन पाउने अभूतपूर्व संयोग बोकेका राजा ज्ञानेन्द्र त सडकमा आए भने रंग पोतेर बाघको अभिनयमा बाँचेका विरालाहरूको घमण्ड नटिक्ने पक्का छ । उनीहरुले बुझे हुन्छ– ‘बाघ नभए ठाउँमा बनविरालाको चुरीफुरी त हुन्छ तर त्यो क्षणिक मात्र ।’

गफमा धनीले उछिने पनि खुवाइको पासा भने गरिबको भागमा पल्टिन्छ । साँचो जीब्रोको स्वाद उसले लिन्छ । त्यसैले त उ सधैं भुटेको र तारेको स्वादमा रमाउँछ । यसको मूल कारण हो– उसभित्रको भोकले भोजनमा अलौकिक स्वाद उत्पन्न गरिदिन्छ । खाए मकै नखाए भोकैको अवस्था अब गरिब हैन, धनीका पुर्पुरामा लेखिन थालेको छ ।

सबैको आकर्षण बनेको सिंहदरबारले राम्रा र चिल्ला कागजमा पौडी खेल्न त सिकायो तर अभ्यासमा एक गिलास भरलाग्दो स्वस्थ पानी जनतालाई दिन सकेन । कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । अरु त अरु मान्छेका ईन्द्रिय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिंदैन । दिन ढलेपछि छायाँले छोड्छ ।

जीवन एउटा वाक्य हो । जवानी डिक हो भने बृद्ध कमा, अनि मृत्यु फुलस्टप । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जो कसैका कुरा सुन्दैन त्यो पनि असफल, जो सबैका कुरा सुन्छ त्यो पनि असफल । भ्रष्टाचारले देश आक्रान्त भएपछि भारत स्वतन्त्रता पछिका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु ईन्जिनीयरहरूको भेलामा डाको छोडेर रोएका थिए । उनको आग्रह थियो– ‘कमसेकम ५० प्रतिशत खाएरै भएपनि राम्रो काम गरिदिनुस् ।’ अब भ्रष्टाचार ओपन सेक्रेट भएको स्वीकार्ने हो भने हामीलाई पनि स्वीकार्न के आपत्ति ? जनताको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको राजनीति गर्ने कर्मीहरूले न पढ्नुपर्ने, न लोकसेवा लड्नुपर्ने, न कुनै दायित्वबोध गर्नुपर्ने बस् गरिदिए पुग्ने जागिर बनेको छ ।

यसअघिका परिवर्तनले केही औंठा छापेलाई हैसियत दिंदा त्यो राजनीतिमा खोट देखाएर गणतन्त्रको यात्रा तय गरिएको थियो । तर अहिले त झन् गाउँका नामी कुखुरा चोर, भट्टीका दिग्विजयी ट्वाँके, हुल्याहा, बताहाहरू देश चलाउने हैसियत राखेर बसेका छन् । एक दशक यो देशमा मान्छे मार्ने खेती चल्यो । मन्दिरका गजुरदेखि पुजारीका शिरसम्म उडाइए । पानी र रगतको भेद छुटिएन । कुट्ने, काट्ने, रेट्ने, मार्ने, चोर्ने जस्ता कर्मलाई संस्थागत बनाउने प्रयास भए । यी सबै कुकर्मबीच पनि नेपाली समाजभित्रको आत्मीय चुरो हल्लिएन । छिमेकी भनेको सहयोगी हैन, शत्रु हो भन्ने तालिवानी भूत नेपाली मानसिकतामा पार्न अतिसय प्रयास भयो । तर हजारौं वर्षदेखि जीविकासंग जोडिएको घाँस दाउरा, अन्नपानीको ऐंचोपैंचो र पर्मको अभ्यासले एकले अर्कालाई अड्याउने जेरी संस्कृतिको प्रतापले त्यस्तो कठिन परिस्थिति पछि पनि समाज रंगहीन, ढंगहीन हुनबाट बच्यो । थिचिएका आस्था र सद्भाव शान्तिको पारिलो घाम पाउने वित्तिक्कै हलक्क मौलाए । जनताले थिति ठेगान छोडेनन भने नेताको चुरीफुरी बत्तीमा घुमेको पुतलीभन्दा पर हुनै सक्दैन भन्ने तथ्यको परिणाम हो यो ।

संसारमा सर्वमान्य सिद्धान्त जन्माउने त्यस्तो सत्पात्र आजसम्म जन्मिएको छैन् । न त देवता खोज्न जाने कुनै भक्तले देउता भेटेर ल्याएको कुनै उदाहरण छ । बरु देउताको अस्तित्व खोज्न जानेहरू आफैं देउतासरह पूज्य बनेका उदाहरण छन् । मृत्यु र दुखको कारण खोज्न निस्किएका राजकुमार सिद्धार्थ गौतम बनेर फर्किए । एउटा सामान्य कार्पेन्टरको सन्तानलाई यस्तै जिज्ञासाले क्राईष्ट बनायो । संसारको हरेक शास्त्रको एउटै सूत्र हो– बहुजन हिताय, बहुजन सुखाय ।

मानिसलाई धर्म र वादका नाममा विभक्त त मानिसले गरेको हो । जाडोमा हरेक वाद र धर्मका मानिसलाई न्यानो लुगा र तातो घाम प्यारो हुन्छ । हो, घामको ताप र लुगाको न्यानो चाहीँ धर्म हो । हामीले कोरेको भनेको सम्प्रदायको लक्ष्मणरेखा हो । सदाचारीमाथि व्यभिचारीको शासन अन्त्यका लागि भएको यो राजनीतिक परिवर्तन पनि अन्ततः नयाँ भाँडोमा पुरानो रक्सीकै छनक दिने परिघटना हुन पुगेको छ । पहिला एउटालाई फूलपाती चढाए हुनेमा अहिले त चढाउँदा चढाउँदा रूखको पात के जराले पनि नभ्याउने अवस्था छ । टोले, झोले, कुण्डले, मण्डलेका डन बनेर दलका मुखियाहरूले राणा शासनकालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी कमाण्डिङ जर्नेलहरूको झल्को दिने काम गर्दै आएका छन् ।

अहिले हामीसँग खुल्ला आकाश छ, खुल्ला धर्ती छ अझ भनौं सर्वत्र खुल्ला वातावरण छ । सार्वभौमसत्ता जनतामा निहित छ । यी सबै भएर पनि यसलाई स्थिर र प्रतिष्ठित बनाउने चेतना, दक्षता र सीपको भने कमी छ । शिक्षाको उज्यालो केही सहरी क्षेत्रमा मात्र सीमित छ । यिनै कारणले खुल्ला आकाश कतै ट्राफिक जाममा परे जस्तो, कतै संकुचित वृत्तभित्र फन्का मारिरहे जस्तो, देशभित्र जनता भएपनि जनताभित्र कतै देश नभए जस्तो अनुभव धेरैलाई भइरहेको छ । हो परिवर्तन धेरै भएको छ तर भित्र होइन, बाहिर बाहिर, व्यवहारमा नभएर सिद्धान्तमा मात्र ।

व्यभिचारीले सदाचारीको भावना बुझेको इतिहास संसारमा कतै छैन । फलामबाट निस्किएको खियाले फलामको अन्त्य गरेजस्तै मान्छेको मनबाट निस्किएको विचारले मान्छेलाई सिध्याउँछ । पोखरीको डिलमा उभिएर पोखरी फोहोर भयो भनेर फलाक्दैमा फोहोर पोखरी सफा नभएजस्तै देश बिग्रिएको चिन्ता चियाको कपमा पोखेर साम्य हुँदैन । त्यसैले भाग्यवादी हैन, कर्मवादी भएर बाँच्ने संकल्प गरेका दिन सबै समस्या आफैं किनारा लाग्ने पक्का छ । यसका लागि अनेकौं तन्त्रमन्त्रका औंठी भिरेर आफूलाई भाग्यवादी बनाएका नेताहरूले ती औंठी फुकालेर जनतालाई कर्मवादी भएको विश्वास दिलाउन सक्नुपर्छ ।

प्रतिक्रियाका लागि sanketkoirala07@gmail.com

यो पनि पढ्नुहोस्-

मेकअप रोज्ने कि ब्रेकअप ?