Breaking News

केन्द्राध्यक्षकै सेटिंगमा व्यापक चोरी, दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

जागेश्वर यादव/सिराहा, ८ चैत्र । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईर्इ) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुईवटा परीक्षा केद्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माहन गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत पवन कुमार गुप्ताले बताए ।

यस्तै, परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माहन गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताए । निष्कासन गरिएको स्थानमा भोलिदेखि अर्को केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सञ्चालन गर्ने जिशिअ महतोले बताए ।

त्यस्तै, सिरहाको तीनवटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको उनले बताए । यस वर्षको एसईर्इ परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमिततर्फ नौ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी नौ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले जानकारी दिए ।

समाचार संकलन गर्न पत्रकारलार्इ रोक

बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पत्रकारलाई अनुगमन गर्नबाट बञ्चित गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भटराईले परीक्षा अनुगमन गर्ने काम सञ्चारकर्मीकोे होइन भन्दै सिरहाका संचारकर्मीहरूलाई समाचार संकलन गर्न पूर्ण रूपमा रोक लगाएको छ ।

सिरहामा निजी विद्यालयहरू सेन्टर खर्च भनेर विद्यार्थीसंग २ हजार देखि ५ हजार रुपैयाँसम्म प्रति विद्यार्थी उठाएको छ । परीक्षामा चिट चोराउनका लागि प्रशासन लगायतको अनुगमन टोलीलाई मिलाउनका लागि जिल्लाका निजी विद्यालयहरूले मोटो रकम उठाएको नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले भने, ‘बिगत जस्तै यस वर्ष पनि हामीलाई सबै निकायलाई मिलाउनुपर्छ, त्यसका लागि विद्यार्थीसंग रकम नउठाए कसरी व्यवस्थापन गर्ने?’

परीक्षा मर्यादित बनाउनका लागि परीक्षा समन्वय समिति सिरहाले ६ वटा अनुगमन टोली बनाएको छ । तर ३८ परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ । अनुगमन टोली बजार एरियामा केन्द्रित रहेको देखिन्छ भने ग्रामीण एरियाको परिक्षा केन्द्रमा व्यापक चिट चोरी भइरहेको छ । केन्द्राध्यक्षको मिलेमतोमा अधिकांश परीक्षा केन्द्रमा बाहिरबाट चिट तयार गरी परीक्षा हलमा पुर्याउने व्यवस्थासमेत मिलाएको एक शिक्षकले बताए ।

समाचार संकलनमा संचारकर्मीलाई रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाले प्रेश विज्ञप्ति जारी गरी पत्रकारलाई समाचार संकलन रोक लगाएको प्रति भर्त्सना गर्दै संचारकर्मीहरूलाई निर्वाध रूपमा स्वतन्त्रतापूर्वक समाचार संकलन तथा पर्यवेक्षण गर्ने वातावरण मिलाउन माग गरेको छ ।

पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर प्रसाद गुप्ताका अनुसार प्रशासनले संचारकर्मीमाथि गरेको व्यवहार निन्दनीय भएको भन्दै तत्काल सच्याउन माग गरेको छ । निजी विद्यालयको आडमा प्रशासनले संचार जगतलाई प्रवेशमा रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप रहेको बताए ।

shares