सरकार मात्र नभर्इ समग्र प्रणाली र व्यवस्था नै परितर्वन भएको छ: प्रधानमन्त्री

ललितपुर, ८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सरकारको मात्र परिवर्तन नभएको भन्दै समग्र प्रणाली र व्यवस्था नै परितर्वन भएको उल्लेख गरेका छन् ।

बिहीबार ललितपुरमा तेश्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको उदेश्य नै परिवर्तन भएको बताए । उनले सरकारको ध्यान न्याय, समृद्धि र समानतामा रहेको बताए । उनले मुलुकमा संघीयता, गणतन्त्र, लोकतन्त्र स्थापित भइसकेको भन्दै आर्थिक विकासको बाटोतर्फ सरकारको ध्यान केन्द्रित रहेको धारणा पनि राखे ।

मुलुक सञ्चालनको विभिन्न तहका करिब ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको भन्दै प्रधानमन्त्री ओलीले महिलाहरूलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गर्ने जिकिर गरे । उनले पहिलो महिला प्रधानन्यायाधीश सुशिला कार्कीको उदाहरण दिंदै ओलीले महिलाले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्नेमा जोड दिए ।

महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धन गर्ने उदेश्यका साथ महिला उद्यमी महासंघ नेपालले तेश्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार आयोजना गरेको हो । चैत्र १२ गतेसम्म चल्ने मेलामा स्वदेशीसहित विदेशी महिला उद्यमीका एक सयभन्दा बढी स्टल राखिएको छ । कार्यक्रममा महिला उद्यमीहरुलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए भने महिला उद्यमी महासंघले प्रर्दशनीस्थलको अभाव भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।