चैत २१ गतेबाट काठमाण्डौमा दोश्रो सहकारी सम्मेलन

ललितपुर, ८ चैत्र । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नाराका साथ आगामी चैत २१ गतेबाट काठमाण्डौमा दोश्रो सहकारी सम्मेलन हुने भएको छ ।

सहकारीका माध्यमबाट नेपालमा भएका उपलब्धीहरूको समीक्षा गरी थप प्रभावकारी बनाउने लगायतका उदेश्य राखेर दुई दिन चैत २१ देखि २२ गतेसम्म काठमाडौंमा दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन आयोजना गर्न लागिएको राष्ट्रिय सहकारी महासंघ नेपालले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जनाएको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी महासंघ मुख्य आयोजक तथा सहकारीका अन्य केन्द्रीय निकायहरू सहआयोजक बनेर दोस्रो सम्मेलन आयोजना गर्न लागिएको हो । आगामी चैत २१ र २२ गते हुने दोस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा देश विदेशका सहकारी विज्ञसहित सहकारी क्षेत्रमा क्रियाशील १२ सय जना सहकारीकर्मीहरूको सहभागिता रहने महासंघका अध्यक्ष केशव बडालले जानकारी दिए । बडालले संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

सम्मेलनमा जिल्लामा क्रियाशील सबै जिल्ला सहकारी संघ र विषयगत सहकारी संघका अध्यक्षहरूसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने भएको छ । नेपालमा पहिलो पटक २०७० चैत ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको थियो । त्यस्तै चैत्र २० गते सहकारी दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिने र कार्यक्रममा उत्कृष्ट रूपमा व्यवसाय गर्ने सहकारी संघ संस्थालाई पुरस्कृत गरिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।