Breaking News

न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउँछु: मन्त्री तामाङ

काठमाण्डौ, ८ चैत्र । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्नको लागि तत्काल न्यायपरिषद ऐन संशोधन गर्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङ्ले अब सम्पत्ति सार्वजनिक गर्न अनिवार्य रूपमा कानूनको व्यवस्था गर्ने बताए । उनले सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउँदा आउने जस्तोसुकै दबाब थेग्न आफू तयार रहेको बताए ।

मन्त्री तामाङ्ले आफूले संसदबाट उक्त कानून पास गराएरै छाड्ने अठोट व्यक्त गरे । न्यायालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आइरहेकोले यसको विषयमा छलफल गरेर भ्रष्टाचारमुक्त न्यायालय बनाउन आफूले विशेष पहल थाल्ने पनि उनले बताए ।

मन्त्री तामाङले पीडितले न्याय पाउनुपर्ने र पीडकलाई कानूनी कारबाहीको लागि कठघरामा पुर्याउनुपर्ने बताउँदै पीडितले उन्मुक्ति पाउने स्थितिको अब अन्त्य गर्नुपर्नेमा जोड दिए । कानूनका अभावले भन्दापनि कार्यान्वयनको अभावले गर्दा मुलुकमा बेथिति जन्मिएको उनको भनाइ छ ।

उनले संविधानले निर्दिष्ट गरे अनुसार असोज ३ गतेभित्रै सबै ऐन तथा कानूनहरू निर्माण गरिसक्ने पनि बताए । त्यस्तै उनले लगभग ३७६ वटा कानून आउने र त्यसमा कतिपय पूरानै कानूनलाई संशोधन गरिने पनि जानकारी दिए ।

उनले स्थानीय र प्रदेश सरकारलाई कानून अभाव भएकोले अबको १० देखि १५ दिनभित्र सबै प्रदेशमा नमूना कानून पठाइसक्ने पनि उल्लेख गरे । मन्त्री तामाङ्ले सबैले अब मुलुकको लागि काम गर्ने बेला आएको समेत धारणा राखे ।

shares