वैशाख पहिलो साताभित्रै पार्टी एकीकरण: प्रचण्ड

गुञ्जनराज गिरी/ललितपुर, ८ चैत्र । नेकपा एमाले र माअोवादी केन्द्र (वाम गठबन्धन) को पार्टी एकीकरण वाम एकता कार्यदलले बुझाएको मिति अगावै पनि हुन सक्ने र त्यो दिन नेपाली राजनीतिक वृत्तमा इतिहास रच्ने दिन हुने माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । वाम एकता कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टी एकीकरण मिति २०७५ वैशाख ९ गतेलार्इ तोकेको छ ।

ललितपुर खुमलटारस्थित प्रचण्ड निवासमा हिमालय टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा बोल्दै प्रचण्डले पार्टी एकता भएपनि दुवै केपी अोली र स्वयम् प्रचण्ड नै अध्यक्ष रहने सहमति भएको र महाधिवेशनपछि को अध्यक्ष हुने त्यसले निर्धारण गर्ने बताए । धमलाको प्रश्नको जवाफ दिंदै प्रचण्डले भने, ‘माअोवादी केन्द्र एमालेसँग र एमाले माअोवादी केन्द्रसँग विलिन नभएको, बरु दुर्इवटा नदी एक ठाउँमा मिसिएको भन्दा अझ राम्रो हुन्छ।”

वाम गठबन्धनको सरकार पाँच वर्ष रहने र यसले नै संघीयताको कार्यान्वयन, सातैवटा प्रदेशमा अौद्योगिक केन्द्र स्थापना गर्ने, कृषि, शिक्षालगायतमा सुधार गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने, विदेशी लगानी पनि भित्र्याउने, र सरकार र निजी क्षेत्रलार्इ साथमा लिएर अघि बढ्ने यो सरकारको प्रमुख उदेश्य रहेको प्रचण्डले बताए । साथै, पुँजीको विकास भएपछि मात्र समाजवादतर्फ अघि बढ्ने भन्दै राजनीतिक स्थायित्वले मात्र देश र जनता सम्पन्न हुने उनले बताए ।

छिमेकी मुलुक चीन र भारतलार्इ एकसाथ मिलाएर अघि बढ्ने, नेपालमा वाम गठबन्धनको सरकार बनेकोमा दुवै देश सरकारप्रति सकारात्मक रहेको र नेपालको विकासको लागि दुवै देशले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिसकेको अवस्थामा अब नेपालको विकास र समृद्धि हुनेमा दुर्इ मत नरहने उनले बताए ।

कार्यक्रम ‘धमलाको हमला’ यही अाइतबार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।