सल्यानमा ७२ प्रतिशत मत खस्याे, क्रियापुत्रीले पनि मतदान गरे

पुरुषोत्तम गिरी / सल्यान ३१ वैशाख । सल्यानका तिन नगरपालिका र सात गाउँपालिकामा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

जिल्लाभरी ७२ प्रतिशतको हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । जिल्लामा रहेका १ सय ७५ मतदान केन्द्र मध्ये १ सय ७४ मतदान केन्द्रमा आज मतदान भएको हो । कुमाख मालिका गाउँपालिका मतदान केन्द्रमा झोलामा खुकुरी राखेको भेटिएपछि मतदान कार्यक्रम स्थगित गरिएकाे हाे । उक्त कार्यमा सलंग्न दिनेश रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम बहादुर खत्रीले बताए । उक्त केन्द्र बाहेक जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान उत्साहजनक तरिकाले सम्पन्न भयाे ।

जिल्लाका १० वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा मतपेटिका स्थानीय तहको केन्द्रमा प्राप्त भएपछि मतगणनाको काम हुनेछ । यस्तै शारदा नगरपालिका १४ ढाँरखानी घर भएका रुद्र बहादुर गिरीको परिवारले किरिया बसेको बेलामा पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको निधन पछि किरिया बसेका उनिहरुले लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मताधिकार नगुमाउने निर्णय गरेका हुन् ।