Breaking News

माध्यामिक शिक्षा परीक्षा सुरु, करिब ५ लाख परीक्षार्थी सहभागी हुँदै

काठमाण्डौ, ८ चैत्र । माध्यामिक शिक्षा परीक्षा (एसर्इर्इ) बिहीबारदेखि सुरु भएको छ ।

देशभरका परीक्षा केन्द्रमा एकैसाथ परीक्षाको सुरु भएको हो । कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईईमा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् । परिक्षाका लागी एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् । सामान्य धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ ।

यो वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेड वृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ ।

परीक्षाको पहिलो दिन अवलोकनका लागि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल बिहानै विभिन्न विद्यालयको परीक्षा केन्द्रसम्म पुगेका थिए ।

shares