Breaking News

जिप दुर्घटनामा १ को मृत्यु, ९ जना घाइते

रुकुम, ८ चैत्र । रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नम्बरको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै ९ जना घाइते भएका छन् ।

वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतककी श्रीमती २७ वर्षीया अमृता खत्री र सात वर्षीय छोरा हिडन खत्री गम्भीर घाइते भएका छन् भने सोही गाउँपालिका वडा नं ७ का ३५ वर्षीया प्रकाश नेपाली, २० वर्षीया निरुता खत्री, ४० वर्षीय बलबहादुर नेपाली, २६ वर्षीय राजकुमार खत्री, बालिका मञ्जु खत्री, आठबीसकोट नगरपालिका वडा नं ९ का २५ वर्षीय रमेश खत्री र वडा नं १२ का ३८ वर्षीय मानबहादुर विष्ट घाइते भएका छन् ।

घाइतेको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने आमाछोराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको र जिप चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । – रासस

shares