Breaking News

खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी

काठमाण्डौ, ५ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा/सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका छन् ।

सोमबार काठमाण्डौमा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सरकारले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीहरू कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । अहिलेसम्म ७२ प्रतिशत कर्मचारी कार्यक्षेत्रमा खटिसकेको भन्दै उनले ७२ प्रतिशतमात्रै नभएर १०० मा १०० प्रतिशत कर्मचारी खटाइएका ठाउँमा पुग्नुपर्ने बताए ।

मन्त्री पण्डितले पटक–पटक ताकेता गर्दा पनि खटाइएको कार्यक्षेत्रमा नजाने वा अटेर गर्ने कर्मचारीहरूलाई सधैंको लागि बिदावारी गर्ने उल्लेख गरे । कार्यक्षेत्रमा नजाने कर्मचारीहरूको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै उनले कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरूले लिँदै आएको सुविधासमेत खोस्ने तयारी भएको जानकारी दिए ।

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीहरूसँग खटाइएको ठाउँमा ईमानदारीपूर्वक र निष्ठापूर्वक सेवा गर्नुको कुनै विकल्प नरहेको स्पष्ट पार्दै अहिलेसम्म स्वेच्छिक अवकाशको लागि निवेदन दिनेको संख्या ९ हजार ७ सय पुगेको बताए ।

निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्नुपर्ने भन्दै उनले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निषेध गर्ने घोषणा गरे । मन्त्री पण्डितले कर्मचारी संगठनहरूको दवावमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता व्यक्त गर्दै नीति निर्माणका बेला कर्मचारी संगठनहरूबाट आवश्यक सुझाव भने आफूले लिने धारणा पनि राखे ।

shares