Breaking News

‘जलस्रोतका उपयोगबाटै मलुकको समृद्धि सम्भव’

काठमाण्डौ, ५ चैत्र । ऊर्जा जलस्रोत एवं सिचाईंमन्त्री वर्षमान पुनले जलस्रोतलाई सही तरिकाले उपयोग गरेर मुलुकलाई समृद्धिको दिशातर्फ लान सकिने बताएका छन् ।

सोमबार नेपाल विद्युत प्राधिकरणका कर्मचारीसँगको अन्तक्रियामा मन्त्री पुनले नेपालमा जलस्रोतको प्रचुर सम्भावना रहेको भन्दै जलस्रोतका माध्यमबाट मलुकको समृद्धि सम्भव रहेको बताएका हुन् । उनले जलस्रोतलाई सही तरिकाले उपयोग गरेमा वार्षिक १ खर्बको पेट्रोलियम पदार्थ आयात गर्न नपर्ने उल्लेख गरे ।

वर्तमान सरकारको एकमात्र उद्देश्य समृद्धि रहेको उल्लेख गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीले नियमसंगत काम गर्नुपर्नेसमेत बताए । ऊर्जामन्त्री पुनले मुलुकमा दोहोरो आर्थिक वृद्धि गर्न १० वर्षमा १० हजार मेगावट बिजुली निकाल्नुपर्ने धारणा पनि राखे । पछिल्लो समय प्राधिकरणले चालेका कदमको स्वागत गर्दै मन्त्री पुनले अन्य सुधारका कार्यलाई तिब्रता दिन निर्देशन पनि दिए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका चुनौति र समस्याहरू मन्त्री पुनलाई जानकारी गराए । उनले चालु आर्थिक वर्षदेखि विद्युत प्राधिकरण नाफामा जाने जानकारी दिंदै मुलुक लोडसेडिङमुक्त भएको सुनाए । विभिन्न आयोजना बनाउनका लागि सर्वसाधारणका लागि लगानी खुला गर्नुपर्ने उनको भनाइ छ ।

प्राधिकरणले २५ प्रतिशतसम्म आईपीओ निष्कासनको तयारी थालेको जानकारी पनि दिएको छ । २९ अर्ब रुपैयाँ संचित नोक्सान रहेको प्राधिकरणले नाफाघाटा बराबरीको अवस्थामा ल्याएपछि आईपीओ निष्कासन गर्ने जनाएको हो । प्राधिकरणअन्तर्गतका अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडलगायतले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेका छन् ।

shares