‘द भ्वाइस’ रियालिटी शो अब नेपालमा

गुञ्जनराज गिरी/काठमाण्डौ, ५ चैत्र । बहुचर्चित अन्तर्राष्ट्रिय टेलिभिजन गायन रियलिटी शो ‘द भ्वाइस’ अब नेपालमा पनि अाउने भएको छ ।

राजधानीको अन्नपूर्ण होटेलमा एक कार्यक्रमको अायोजना गरी चर्चित अन्तर्राष्ट्रिय गायन रियलिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’ सुरु भएको अायोजकले जनाएको हो । एएनसी प्रा.लि. नेपालले नेदरल्याण्डको टाल्पा मिडियासँग फ्रेन्चाइज लिएको हो । हालसम्म १९१ देशमा उक्त फ्रेन्चाइज शो संचालन भैसकेको छ ।

उक्त शोको अडिशन डिजिटल एप्स ‘द भ्वाइस अफ नेपाल’ मार्फत हिजोदेखि नै सुरु भएको अायोजकले जनाएको छ । शोमा १६ वर्षमाथिका जो कसैले पनि भाग लिन सकिने छ भने रियालिटी शो को विजेताले ‘द भ्वाइस अफ नेशन’को उपाधि जित्नुको साथै नगद २५ लाख, एउटा कार, २० लाख बराबरको भिडियो एल्बम कन्ट्र्याक्ट र वर्ल्ड टुर कन्सर्टको अवसर प्राप्त गर्नेछन् ।

शोमा दीप श्रेष्ठ, अभय सुब्बा, प्रमोद खरेल र सनुप पौडेल गरी ४ जना जजहरू रहनेछन् । ‘द भ्वाइस अफ नेपाल’ शोको अध्यक्ष प्रल्हाद सिंह महत हुन् भने लक्ष्मण पौड्यालको निर्देशन रहनेछ । त्यस्तै, कार्यकारी निर्देशक तथा सञ्चालक शुशिल नेपाल, फिरोज तिमल्सिना मुख्य सहायक निर्देशक, विवेकसिंह ठकुरी व्यवस्थापक तथा बजार व्यवस्थापन निर्देशक र प्रमुख छायाँकारमा शिवराम श्रेष्ठ रहेका छन् ।

उक्त नेपाली शो अन्तर्राष्ट्रिय प्लाटफर्ममा समेत जानेछ । केही शोहरू ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेसमेत अायोजकले जनाएको छ । ‘द भ्वाइस अफ नेपाल’को प्रसारण भने असारदेखि टेलिभिजनमा हेर्न पाइने छ । उक्त शोको सद्भावनादूत केन्जलमेहर श्रेष्ठ अनुबन्धित भएकी छिन् ।