५ वर्षभित्र नेपालको कायापलट गर्ने प्रधानमन्त्री ओलीको अठोट

काठमाण्डौ, ५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालको कायापलट गर्ने बताएका छन् ।

सोमबार काठमाण्डौमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक शान्ति र एकताको युगमा प्रवेश गरेको भन्दै मतभेदलाई बिर्सेर मुलुक निर्माणमा एकजुट हुन सबैसँग आग्रह पनि गरे । मुलुक लामो द्वन्द्वबाट शान्तिमा प्रवेश गरेकाले अब लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपालमा शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा पनि गरे । उनले देशलाई सर्वोपरी राखेर जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन पनि दिए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बललाई समयसापेक्ष परिवर्तन गरेर लैजाने सरकारको लक्ष्य रहेको धारणा राखे ।

चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको भवन निर्धारित समयभन्दा ६ महिनाअगाडि नै तयार भएको जनाइएको छ । प्रशिक्षण भवन ३१८ रोपनी क्षेत्रफलमा बनेको छ ।