वैदेशिक रोजगारमा देखिएको अव्यवस्थित प्रणालीलाई सुधार्छु: मन्त्री बिष्ट

काठमाण्डौ, ५ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारमा देखिएको अव्यवस्थित प्रणालीलाई सुधार्नका लागि खटेर काम गर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको ज्ञापन पत्र बुझ्दै मन्त्री बिष्टले श्रम, बैदेशिक रोजगार र सामाजिक सुरक्षा को विषयमा महत्वपूर्ण र तथ्यगत निर्णय लिने बताए । वैदेशिक रोजगारीसँग सम्बन्धित समस्यालाई समाधान गर्न कुनै कानूनी र नीतिगत समस्या नरहने पनि उनले बताए ।

ज्ञापन पत्र बुझाउदै संघले वैदेशिक रोगजार ऐन २०६४ लाई असक्षरसः कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै म्यानपावर र कन्सन्टेन्सीको अनुगमन तीब्र बनाउनुपर्ने भन्दै ठगी गर्ने म्यानपावर र कन्सन्टेन्सीलाई सूचीकृत गरी दर्ता खारेज गर्नुपर्ने जनाएको छ ।

तत्काल रोजगार व्यवसायीको नयाँ ईजाजतपत्र वितरण कार्य रोक्नुपर्ने, फ्री भिसा र फ्री टिकटको अनुगमन तीब्र गर्नुपर्ने, विदेशमा निधन भएका कामदारको शव नेपाल ल्याउन श्रममैत्री कानून बनाउनुपर्ने लगाएतका विषय समेटेर मन्त्री बिष्टलाई २१ बुँदे ज्ञापन पत्र बुझाइएको संघका अध्यक्ष दिपक राउतले जानकारी दिए ।

संघले म्यानपावरको शाखा कार्यालय बन्द गर्नुपर्ने, वैदेशिक कामदारको अभिमुखीकरण कक्षाको गुणस्तर बढाउनुपर्ने, विदेशमा मेडिकल फेल भई फर्किएका कामदारको क्षतिपूर्ति सम्बन्धित मेडिकलले नै तिर्नुपर्ने लगायतका व्यवस्था गर्न पनि माग गरेको छ ।