चीनियाँ व्यवसायीहरू नेपालमा लगानी गर्न ईच्छुक

काठमाण्डौ, ५ चैत्र । चीनका व्यवसायीहरूले नेपालमा लगानी गर्न ईच्छुक रहेको जनाएका छन् ।

दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरूको छैठौं सम्मेलनमा भाग लिन नेपाल आएका चीनियाँ प्रतिनिधिमण्डलको टोलीले सोमबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग भेट गर्दै नेपालमा लगानीका साथै चीनमा निर्मित सामाग्रीलाई नेपाल पठाउने र नेपालका सामानहरू पनि चीन लगी व्यवसाय गर्न तयार रहेको जनाएका हुन् ।

कृषि , जलश्रोत र औधौगिक क्षेत्रमा लगानी गर्न आफुहरू उत्सुक रहेको पनि टोलीले जनाएको छ । भेटमा मन्त्री पण्डितले नेपाल आर्थिक वृद्धिको बाटोमा अघि बढेको भन्दै कलकारखाना लगाएतका क्षेत्रमा हुने बाह्य लगानी स्वागतयोग्य रहेको बताएका थिए ।

चीनियाँ टोलीले नेपाल-चीनको व्यापारिक सम्बन्ध ऐतिहासिक रहेको भन्दै यसलाई निरन्तरता दिन आफुहरू तयार रहेको जनाएका थिए ।छलफलमा चीनियाँ टोलीले दक्षिण एशियाका व्यापारिक सम्मेलनले सकारात्मक सन्देश दिएको भन्दै सार्क स्तरीय व्यापारिक सम्बन्धलाई मजबुद बनाएर अघि लैजानु पर्नेमा समेत जोड दिएका थिए ।