Breaking News

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था गर्ने कानून निर्माण हुन्छ: कानूनमन्त्री

काठमाण्डौ, ५ चैत्र । कानूनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था गर्ने कानून निर्माण हुने बताएका छन् ।

सोमबार सिंहदरबारमा १६ बुँदे कार्यक्रम सार्वजनिक गर्दै मन्त्री तामाङले वडा अध्यक्ष, सरकारका मुख्य सचिवदेखि न्यायाधीशसम्मको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताए । त्यस्तै, मुख्यसचिवदेखि खरिदारसम्मले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मन्त्री तामाङले उल्लेख गरे ।

मन्त्री तामाङले अबदेखि न्यायाधीशहरूले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताए । १६ बुँदे कार्यक्रमको १२ नम्बर बुँदामा पनि न्यायाधीशको आचरण कायम गर्न सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउने कुरा उल्लेख छ ।

न्यायाधीशहरूको आचरण कायम राख्न न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानून परिमार्जन गर्ने लगायतका उपायहरूको अध्ययन गरी कानून परिमार्जन गरिने उनले बताए । मुलुकमा दलीय व्यवस्था भएका कारणले न्यायाधीश पनि कुनै न कुनै दलसँग सम्बन्धित हुने उनको भनाइ छ ।

यस्तै कानुनमन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग ३० तोला सुन, ७० लाख ऋण, काठमाडौंको पुरानो वानेश्वरमा जग्गा र गोकर्णेश्वरमा घर भएको उल्लेख गरे ।

त्यस्तै मन्त्री तामाङले नयाँ संविधान अनुसार, अब ४१ वटा नयाँ कानून बनाउनुपर्ने भन्दै ती कानून बनाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको पनि जानकारी दिए ।

shares