विमान दुर्घटना अपडेट: २३ बांग्लादेशी यात्रुको शव ढाका पठाइँदै

काठमाण्डौ, ५ चैत्र । युएस-बांग्ला विमान दुर्घटनामा गत हप्ता ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट आज ढाका पठाउन लागिएको छ ।

नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतबार साँझ काठमाण्डौस्थित बांग्लादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए । दूतावासका कन्सुलर अल अलेमुल इमामले भने, “पहिचान गरिएका २३ जना बांग्लादेशी नागरिकको शव एउटा विशेष उडानबाट आज अपरान्ह ढाका पठाउँदैछौँ।”

ढाकाबाट शवहरू मृतकका आफन्तलाई बुझाइने कन्सुलर इमामले बताए । पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको पनि उनले जानकारी दिए ।

काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमबार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १० जना बांग्लादेशी यात्रुमध्ये थप उपचारका लागि ८ जनालाई ढाका र दुईजनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए।

अझै तीनजना बांग्लादेशी यात्रुको शव पहिचान हुन बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।