उपराष्ट्रपति पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित

काठमाण्डौ, ४ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

उपराष्ट्रपति उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दा उपराष्ट्रपति पुन मात्र उम्मेद्वार कायम भएकाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २४ बमोजिम पुनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको उपराष्ट्रपति निर्वाचन अधिकृत तिल प्रसाद श्रेष्ठले जानकारी दिए ।

उपराष्ट्रपतिका लागि शनिबार पुनको मात्रै उम्मेद्वारी परेको थियो । आवश्यक सबै चुनावी प्रक्रिया पूरा गरी पुनलाई निर्वाचित भएको घोषणा गरिएको उपराष्ट्रपति निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

उपराष्ट्रपतिको उम्मेद्वारी दर्ता गर्दा पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा रहेका थिए भने समर्थकमा माओवादी केन्द्रका नेताहरू देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम रहेका थिए ।