पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान

ललितपुर, ४ चैत्र । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गर्दै सरकार लगानी मैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार ललितपुरमा ललितपुर उद्योग बाणिज्य संघको ५१ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानीमैत्री ऐन, नियम निर्माण गर्न सरकार तयार रहेको समेत बताए । उनले रोजगारी उत्पादन हुने गरी मुलुकलाई औद्योगिकरणको दिशामा लैजाने योजना सरकारको रहेको उल्लेख गरे ।

लघु उद्यमको प्रवद्धन गर्दै आमरूपमा स्वदेशमा रोगजारीको सिर्जना तथा स्वदेशमा उत्पादित वस्तुको राष्ट्रिय अन्तराष्ट्रिय बजार व्यवस्थापनका लागि सरकारले अधिकतम सहयोग गर्ने उनको भनाइ छ । मन्त्री खतिवडाले मुलुकभित्रको कलाको सम्बर्द्धन र संस्कृतिलाई व्यावसायको माध्यमबाट बजारीकरण गर्न निजी व्यासायीसंग सरकारको सहकार्य हुने धारणा पनि राखे ।

त्यस्तै संघका पदाधिकारीले लगानी मैत्री वातावरणको अभावमा निजी क्षेत्रले खुलेर लगानी गर्न नसकेको अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा लामो समय ललितपुर उद्योग बाणिज्य संघ रहेर योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।