सुशासन कायम गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ, ४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हितमा सुशासन कायम गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारमा मन्त्रीहरू, मुख्य सचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले जिम्मेवारपूर्ण भएर प्रस्तुत भएर जनताको हितमा सुशासन कायम गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार सामान्य अवस्थाको सरकार नभएको भन्दै जिम्मेवारीहरू पूरा गर्नुपर्ने धेरै कामहरू रहेकोले बडो जिम्मेवारपूर्ण भएर प्रस्तुत हुन निर्देशन दिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले अहिलेको राष्ट्रको अभिभारालाई पूरा गर्न सम्पूर्ण ऊर्जासहित स्रोत शक्ति लगाएर पुरा गर्न विशेष निर्देश गरे । वर्तमान सरकार सम्वृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकास लक्ष्य हासिल गर्न र संविधानले उल्लेख गरेका मौलिक हक लगाएतका समग्र पक्षको कार्यान्वयन गर्न केन्द्रित रहेको भन्दै यसलाई पूरा गर्न असाधारण सक्रियताका साथ कार्य गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

ओलीले भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कर्मचारीको प्रवृत्ति सरकारलाई स्वीकार नहुने चेतावनी पनि दिए । बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ऐतिहासिक दायित्व पूरा गर्न सरकार गठन भएकाले सोही अनुरुप कार्यसम्पादन गर्न प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिएको जानकारी दिए ।

संविधान कार्यान्वयनदेखि देशमा देखिएको आर्थिक मन्दीलाई समेत नियन्त्रण गर्ने ऐतिहासिक अभिभारा सरकारसँग भएकाले सोही अनुरूप नतिजामुखी काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । उनले देश र जनताको सुरक्षामा केन्द्रित हुन सुरक्षा निकायलाई निर्देशन दिए ।