Breaking News

दृष्टिविहीन विद्यार्थीलार्इ मोबाईल वितरण

काठमाण्डौ, ४ चैत्र । विभिन्न विद्यालयमा अध्ययन गरिरहेका दृष्टिविहीन विद्यार्थीलाई अध्ययनमा सहजता ल्याउन मोबाईल वितरण गरिएको छ ।

विभिन्न कक्षाका पुस्तकको अडियो सामाग्री अपलोड गरिएको मोबाईल आइतबार ८० जना दृष्टिविहीन विद्यार्थीलाई वितरण गरिएको हो । दृष्टिविहीन विद्यार्थीहरूको पढाइ क्षमता अभिवृद्धि गर्नका लागि अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल नामक संस्थाको पहलमा मोबाईल वितरण गरिएको थियो ।

मोबाईलमा विभिन्न पुस्तकको अडियो सामाग्रीका साथै शिक्षकले सिकाइरहेको अडियो सामाग्री पनि राखिएको छ । अक्षर पढ्न कठिनाई भएका विद्यार्थीहरूलाई अध्ययन कार्यमा सहज पहुँच पुर्याउने उद्देश्यले एड्राड नेपालले उक्त अभियान सञ्चालन गरी हालसम्म ३ सय जनाभन्दा बढी दृष्टिविहीन विद्यार्थीहरूलाई मोबाईल र ट्याब्लेट वितरण गरिसेकेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा एड्राड नेपालका अध्यक्ष डाक्टर बिरेन्द्रराज पोखरेलले जानकारी दिए ।

दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक पाठ्यपुस्तक पहुँचयुक्त नभएको सन्दर्भमा अत्याधुनिक प्रविधि तथा विद्युतीय प्रकाशनमा आधारित पुस्तकहरू पढ्नुका अतिरिक्त इन्टरनेटका माध्यमबाट आवश्यक पाठ्यसामाग्रीहरू खोज्न तथा पढ्न उक्त मोबाईल वितरण गरिएको उनले बताए ।

shares