देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्छु: शशीकला दाहाल

काठमाण्डौ, ४ चैत्र । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष शशीकला दाहालले देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दे उनले यस्तो बताएकी हुन् । उनले संविधान जारी भइसकेको अवस्थामा नीतिनियम कानून निर्माण गर्नुपर्ने भएकाले यसमा नै ध्यान केन्द्रित हुने बताइन् ।

उनले मुलुकमा देखिएको विकृतिलाई न्यूनिकरण गर्दे लोकतान्त्रीक गणतन्त्रणको समृद्धि, स्थायी शान्ति र विकासमा आफ्नो योगदान रहने जिकिर गरिन् । त्यस्तै उनले आफू कुनै दलको प्रतिनिधि भएर चुनाव लडेपनि अब भने मलुकको दायित्व काँधमा आएको धारणा पनि राखिन् ।

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन सम्पन्न भएसंगै संघीय संसदले पूर्णता पाएको छ । नयाँ संविधानमा संसद् दुई सदनात्मक हुने व्यवस्था छ । माथिल्लो सदन राष्ट्रियसभाले कानून निर्माण र प्रतिनिधिसभालाई अनुगमनको कार्य गर्ने परिकल्पना गरिएको छ ।

संविधानको व्यवस्था अनुसार संघीय संसद् कुल ३ सय ३४ सदस्यीय हुनेछ । प्रतिनिधिसभा २ सय ७५ र राष्ट्रियसभा ५९ हुने संविधानमा उल्लेख छ ।