Breaking News

पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २३ देखि २७ गतेसम्म चितवनमा हुने

काठमाण्डौ, ३० फाल्गुन । पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ चैत २३ गतेदेखि २७ गतेसम्म चितवनमा आयोजना हुने भएको छ ।

चितवन उद्योग संघको आयोजनामा प्रत्येक दुई-दुई वर्षमा हुँदै आइरहेको यस प्रदर्शनी यसवर्ष चैत २३ गतेदेखि २७ गतेसम्म पाँच दिनमात्रै आयोजना हुन लागेको हो । बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले निर्माणाधीन चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने प्रदर्शनीलाई बृहत र प्रभावकारी बनाउन तयारी तिब्र गरिएको जानकारी दिए ।

यसवर्ष प्रदर्शनीमा ७५ प्रतिशत उद्योगका स्टलहरू रहने छ भने बाँकी २५ प्रतिशतमात्रै व्यापारिक स्टलको रूपमा रहने अध्यक्ष दुवाडीले जानकारी दिए । प्रदर्शनीमा विशेषगरी उद्योगहरूले भित्र्याएका नयाँ–नयाँ प्रविधिहरूको प्रदर्शनी रहनेछ । त्यसका साथै स्थानीय उद्योगहरूबाट उत्पादित वस्तुहरू पनि प्रदर्शनीमा राखिने चितवन उद्योग संघले जनाएको छ । पाँचदिने प्रदर्शनीलाई अन्तराष्ट्रियस्तरको बनाउने गरी काम अघि बढिरहेको अध्यक्ष दुवाडीले बताए ।

प्रदर्शनीमा २५० भन्दा बढी स्टलहरू रहनेछन् । चितवन उद्योग संघले पहिलोपटक ०६६ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो । त्यसपछि लगत्तै ०६८, ०७० र ०७२ मा प्रदर्शनी गरेको थियो ।

shares