Breaking News

अन्तर्राष्ट्रिय ललित ट्रेड फेयर २०१८ सुरु

ललितपुर, ३० फाल्गुन । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबारदेखि ललितपुरमा ‘अन्तर्राष्ट्रिय ललित ट्रेड फेयर २०१८’ सुरु भएको छ ।

ललितपुरको पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मेलाको उद्घाटन गरे । नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको मेलामा स्वदेशी तथा विदेशी गरी कृषि, हस्तकला, विज्ञान प्रविधि तथा अन्य औद्योगिक उत्पादनका ९० ओटा प्रदर्शनी स्टल रहेका छन् ।

मेलामा सजावटका सामान, पर्यटनसम्बन्धी विभिन्न सामग्री, आयुर्वेद, सौन्दर्यका सामग्रीहरू एवम् स्वदेशी कपडाजन्य उत्पादनसमेत राखिएका छन् । मेलाको आयोजनाले स्थानीय साना तथा मझौला उद्यमीहरूलाई नयाँ वस्तु एवम् सेवाको उत्पादनलाई प्रोत्साहन गर्नुका साथै आफ्ना उत्पादनहरूलाई स्थानीय एवम् अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण एवम् प्रवर्द्धन गर्न सहयोग गर्न मद्धत पुग्ने मुख्यमन्त्री पौडेल बताए ।

मेलाको साढे २ लाख सर्वसाधारणले अवलोकन गर्ने र मेला अवधिभर करिब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । मेला चैत ३ गतेसम्म ४ दिन सञ्चालन हुने सङ्घले जानकारी दिएको छ ।

shares