Breaking News

फ्रि पासका कारण सौराहा फुड फेष्टिवल घाटामा

चितवन, ३० फाल्गुन । चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटन प्रर्वद्धनका लागि आयोजित १२ औं सौराहा फुड फेष्टिवल फ्रि पासका कारण घाटामा गएको छ ।

हरेक वर्ष प्रेम दिवसको अवसर पारेर यहाँ आयोजना हुने फेष्टिवलमा फ्रि पासकै कारण यो पटक ४९ हजार १६ रुपैयाँ घाटा १२ औँ सौराहा फुड फेष्टिवलका आर्थिक समिति संयोजक दिपेन्द्र खतिवडाले जानकारी दिए ।

गत माघको अन्तिम साता आयोजना गरिएको १२ औं सौराहा फुड फेष्टिवलको मंगलबार आयव्यय सार्वजनिक कार्यक्रममा क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसियसन(रेवान) सौराहाका अध्यक्ष गोर्कण गिरीले २७ हजार फ्रि पासकै कारण आफूहरूले घाटा व्यहोर्नु परेको बताए ।

सौराहामा सिसवार खेल मैदान सार्वजनिक जग्गा भएपनि स्थानीयले आफूहरूको भएको भन्दै फेष्टिवलको ७ दिन स्थानीयसहित अन्यलाई फ्रि पास बाँड्दा सो घाटा भएको स्पष्ट समेत पारेका थिए ।

माघ २८ देखि फागुन ३ गतेसम्म सौराहामा सम्पन्न फेष्टिवलको आयव्यय सार्वजनिक गर्दै १२ औँ सौराहा फुड फेष्टिबलका आर्थिक समिति संयोजक दिपेन्द्र खतिवडाले फुड फेष्टिबलमा ४९ हजार १६ रुपैयाँ घाटा भएको जानकारी दिए ।

फुड फेष्टिबल भएको कार्यक्रमस्थल रत्ननगरको सिसुवार चौर रहेको वडा नम्बर ७ का स्थानीयहरूले पासको माग गरेको र पास नपाए कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएकाले करिब २७ हजार पास वितरण गरिएको अध्यक्ष गिरीले बताए । पास वितरण गरेकाले फुड फेष्टिबलमा घाटा भएको उनको दाबी छ ।

फुड फेष्टिबलमा ५७ लाख ५२ हजार ४ सय ५५ रुपैयाँ आम्दानी भएको र ५८ लाख १ हजार ४ सय ७१ रुपैयाँ खर्च भएको खतिवडाले बताए । फुडफेष्टिवलमा अपेक्षा अनुसारको टिकट बिक्री गर्न नसक्दा घाटा भएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । टिकट बिक्रीबाट करिब १६ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएकोमा जम्मा ५ लाख १५ हजार १ सय ५० रुपैयाँ मात्रै आम्दानी भएको उनले जानकारी दिए ।

सामाजिक काम जारी

फुड फेष्टिबलमा घाटा भएपनि रेवान सौराहाले करिब ४ लाख रुपैयाँ विभिन्न सामाजिक कामको लागि प्रदान गर्ने भएको छ । रेवानले टिकट बिक्रीबाट भएको आम्दानीको ४० प्रतिशत रकम घुम्ती शौचालय निर्माण, बालश्रम न्यूनीकरण, सडक बालबालिकाको लागि र असाहय तथा बृद्धबृद्धाको लागि खर्च गर्ने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर-प्रमुख नारायण वनले सौराहामा रेवान सौराहाले सञ्चालन गर्न लागेको घुम्ती शौचालयका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । उनले सार्वजनिक जग्गालाई सबैले साझा सम्पतिको रूपमा सम्झनुपर्ने र भौगोलिक रूपमा धेरै दाबी विरोध गर्न नहुनेमा जोड दिएका दिए ।

रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा १२ औँ सौराहा फुड फेष्टिवलका संयोजक कपिल रेग्मीले स्वागत मन्तव्य राखेका भने क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे, रेवान महिला समुहकी अध्यक्ष माला दहाल लगायतले मन्तव्य व्यक्त गरेका दिए ।

shares