कर्णालीमा अझै कर्मचारी नपुगेको मुख्यमन्त्री शाहीको गुनासो

काठमाण्डौ, ३० फाल्गुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले २१५ कर्मचारी दरबन्दी रहेको कर्णाली प्रदेशमा अहिलेसम्म ११० जनामात्रै कर्मचारी पुगेको गुनासो गरेका छन् ।

बुधबार काठमाण्डौमा आयोजित साक्षात्कारमा उनले कर्णाली प्रदेशमा कर्मचारी जानै नमान्ने र सचिव पनि नपुगेको गुनासो गरे । मुख्यमन्त्री शाहीले अधिकार सम्पन्न प्रदेश नभएकोले कतिपय कामहरू गर्नको लागि निर्देशन दिने अधिकार नभएको पनि बताए ।

अहिले पनि संघीय व्यवस्था नचाहनेहरूको नेपालमा बाहुल्यता रहेको बताउँदै शाहीले पूर्ण अधिकारसहितको संघीयतामा जान नसकिएको जिकिर गरे । कर्णाली प्रदेश देश तथा विदेशको लागि पनि परिचित नाम भएको भन्दै उनले ५२ प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि रहेको बताए ।

आफूहरूको प्रदेशमा लगानीको लागि पुँजीको आवश्यकत्ता रहेको शाहीको भनाइ छ । उनले कर्णालीको विकासको लागि केन्द्रिय बजेटको ५० प्रतिशत बजेट छुट्याउँदा पनि नपुग्ने धारणा राखे । छोटो समयमा तीव्र विकास हासिल गर्नको लागि राष्ट्रिय पुँजीको प्रयोगसँगै अन्तर्राष्ट्रिय पुँजीको पनि सहयोग लिनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ थियो ।