Breaking News

मेकअप रोज्ने कि ब्रेकअप ?

संकेत कोइराला

भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवतीहरू भुतुक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणासंग बस्यो । उनीहरू एक अर्काप्रति यति आशक्त कि संगै जिउने, मर्ने कसम खाएका थिए । यिनीहरूको प्रेमले पाण्डव र कौरव पक्षमा ठूलो हल्लीचल्ली मच्चियो । यदुवंशी खलकसंग छोरी लागेको दुर्योधनलाई सह्य थिएन । बाउहरूको जुँगाको लडाईंले आफ्नो पवित्र प्रेम शहीद हुने बुझेपछि दुवैले भागेर विवाह गरे । यो खबर आगोसरि फैलियो । दुर्योधनले तत्काल फौज पठाएर साम्बलाई बन्दीगृहमा राख्यो । दुर्योधनको बन्दीगृहमा छोरो परेको खबरले कृष्ण आकुल व्याकुल भए । कृष्णका दाजु बलराम साथी उद्धवलाई लिएर साम्बलाई छुटाउन हस्तिनापुर पुगे । उनले शालीन भाषामा अनुरोध गरे– ‘हे दुर्योधन ! जवान भएका युवायुवती एकले अर्कालाई मन पराएर बिहे गर्छन भने त्यो अपराध होइन । उचित अनुचितको भेद उनीहरूलाई राम्रोसंग थाहा छ । अब हामी अभिभावकको कर्तव्य विधिपूर्वक जोडी बाँधिदिनु हो । म यही अनुरोध गर्न तपाईं समीप आएको हुँ ।’

बलरामको अनुरोध लत्याउँदै अभिमानी दुर्योधन कराउन थाल्यो– ‘खुट्टामा पहिरिने जुत्ता शीरमा किमार्थ लगाइन्न । एउटा गरिब भिखारीको छोराले हस्तिनापुर युवराजकी छोरी ताक्ने ? यो असम्भव छ । राजा महाराजको आसनमा बस्ने अधिकार यस्ता भिखारीलाई छैन ।’ दुर्योधनको अपमानजनक वाणीले बलरामलाई क्रोधित बनायो । उनले हस्तिनापुर थर्काउँदै चेतावनी दिए– ‘तैंले मेरो मात्र हैन, सम्पूर्ण यदुवंशीहरूको अपमान गरेको छस् । साम्बलाई बन्दीमुक्त गरी लक्ष्मणासंग बिहे गरिदिन्छस् भने ठीक छ । यदि मेरो वचनको उल्लंघन भयो भने याद गर हस्तिनापुर पूरै उल्टाएर सखाप बनाइदिन्छु । तेरो लागि यो पहिलो र अन्तिम मौका हो ।’ बलरामको गर्जनपछि कौरवहरू आफ्नो साइजमा आए । दुर्योधनले साम्बलाई मुक्त मात्र गरेन, प्रशस्त दाइजोसहित छोरी लक्ष्मणालाई अघि लगाएर भव्य कार्यक्रम गरी ज्वाईं सकारेर पठायो ।

देशका ठूला दुई मुखिया केपी ओली र पुष्पकमल दाहालको राजनीति लगनगाँठोको प्रस्थान विन्दु पनि यस्तै कठिन र चुनौतीपूर्ण क्षणबाट सुरु भएको हो । आफ्नो राजनीतिक जीवनको सबैभन्दा बढी ताली सम्भवतः ओलीले प्रचण्डविरुद्ध गरेको विषवमनको समर्थनमै खाए होलान् । राजनीतिमा असम्भव केही हुन्न, यो सत्य हो । बाटोको एउटा इँटा असुरक्षित हुन्छ । जब त्यो पर्खालमा अनुवाद भएर आउँछ, त्यसलाई चलाउने सामर्थ्य कसैको हुन्न । वामगठबन्धन पनि विश्वासको त्यो पर्खाल बन्न सक्यो भने लालसेनाबाट लालगेडीमा परिणत हुने पक्का छ । यदि यो अवसर दुईवटा पेटी ठेकेदारको ‘भागशान्ति जयनेपाल’ बन्यो भने वाम-गठबन्धन रिमिक्स भएर ‘झ्वाम गठबन्धन’का नाममा इतिहासले लेखो लगाउने छ ।

सम्भवतः महेन्द्र र बीपी नेपालको राजनीतिक इतिहासका त्यस्ता पात्र थिए, जो मन, मुटु र मस्तिष्कबाट मिल्थे । आत्मवृतान्तमा बीपीले राजासंगको निकटता खोल्दै एक ठाउँमा यसरी अन्तरसंवाद उल्लेख गरेका छन्– ‘तपाईंलाई देख्ने वित्तिक्कै हामी कुरा गरिरहेका थियौं कि नेपालको प्रधानमन्त्री त यही मान्छे हुनसक्छ, जसले बाहिर पनि प्रतिष्ठा राख्न सक्छ । र, देखाउन पनि बाहिर सकिन्छ भने यही मान्छेलाई सकिन्छ भनेर हामी दुई कुरा गरिरहेका थियौं । तपाईंलाई सिंढीमा देख्ने वित्तिक्कै हामीले त्यो कुरा गरेको । मेरो व्यक्तिगत र निजी पाहुना तपाईं मात्र हो । अरु सबै सरकारी पाहुना हुन् । ’

सन्दर्भ त्यतिमा मात्र सीमित छैन । रानी तरकारी काट्दै गरेको ठाउँमा आफू फुत्त पस्दा ‘स्वास्नी मानिसहरूको ठाउँमा किन आएको नि’ भनेर रानी रत्नाले प्रतिप्रश्न गरेको सन्दर्भ झिक्दै बीपी रानीको मूल्यांकन गर्दै भन्छन् – ‘पीर्कामा बसीकन एउटा मध्यम वर्गकी स्वास्नीमान्छेले खास्टो त्यो पनि धेरै महँगो होइन, ओढीकन तरकारी काट्ने, केलाउने गरेको मैले देखेको छु । तिनी कुनै ठस्सावाल होइनन् । उनीहरूले मलाई सम्मान दिए, सम्मान मात्रै होइन, स्नेह दिए । यो एक किसिमको आदर पनि र माया पनि दिए ।’

राजारानीप्रति बीपीको सद्भाव उनको अर्को कृति जेल जर्नलमा आइपुग्दा कटाक्षमा परिणत हुन्छ । उनी बम्किंदै यसरी आगो ओकल्छन् – ‘आफ्नो सँजायको पूरा अवधि जेलमा कोटर पनि सरकारले रिहा गरेन । अन्धाधुन्ध छ यो राज्यमा । एकदम बहुलट्ठी लागेको छ राजालाई । राजाको एकतन्त्री हुकुमी शासनको आजकाल बारम्बार प्रमाण नकच्चरो किसिमबाट स्वयं राजाले दिराखेका छन् । उनको अन्तिम दिन त होइन आएको ?’

त्यो भन्दा अगाडिको एउटा अर्को रोचक प्रसंग छ । साली रत्नासंग प्रेममा फसेको सुईंको पाएपछि त्रिभुवनले महेन्द्रलाई युवराज भएर अनैतिक काम नगर्न दबाब दिए । बाउछोराको गलफत्ती यतिसम्म उत्कर्षमा पुग्यो कि छोरो नल्याई नछोड्ने, अदप नाघेर बिहे गरे युवराजबाट निकाल्ने बाउको चेतावनी । आखिर बीपीले मध्यस्थ गरिदिएर राजा महेन्द्रको बाटो खोलिदिए । युवराज पद पनि जोगियो ।
एउटा नर्सरी पढ्ने बच्चालाई पनि थाहा छ– यो देशमा महेन्द्र र बीपी एक दशकसम्म मिलिदिएको भए मुलुक स्वीटजरल्याण्ड उहिल्यै बन्थ्यो । तर उपयोगको राजनीतिक माखेसाङ्लोले यी दुई विराट व्यक्तित्वको जीवन एक नदीको दुई किनार भएर ईतिश्री भयो ।

नियतिले ६ दशकपछि ओली र प्रचण्डलाई लगभग त्यही शक्तिको सेरोफेरोमा ल्याइदिएको छ । उमेरले ६ दशक नाघेका यी दुवै नेताको सिङ, जुरो पलाउने समय सकिएको छ । यो अवसरलाई मेकअपमा प्रयोग गर्ने कि ब्रेकअपमा रोजाई उनीहरूकै हो । आज जिन्दावादको स्वर उराल्नेहरू नै भोलिका कालोझण्डा बोक्ने बाहकहरू हुन् । थालमा हुँदा त्यही भात भोक मेट्ने अन्न हुन्छ, थालबाट झरेपछि जुठो । विश्वास ऐनाजस्तै हो । नफुटेसम्म सबैथोक राम्रोसंग देखिन्छ, फुटेपछि छरिएका टुक्राहरूको त्रास जिन्दगीभर बिझाइरहन्छ ।

चेपाङ, कुसुन्डा, दनुवारको समस्याले मुलुक थला परेकोे होइन । न्यायालयमा जानुस् ९० प्रतिशत मुद्दा जग्गासंग सम्बन्धित छ । नजानेको, नबुझेको, नपढेको मुद्दामामिलाको व्याकरण नै बुझ्दैन । समस्या कोट टाई, दौरा सुरुवाल लगाउनेहरूको दृष्टिकोणमा छ । अहिले त झन् राजनीतिलाई राजनीति गर्ने भन्दा गैरराजनीतिक प्राणीबाट जोगाउनुपर्ने चुनौती छ । कपाल काट्ने हजाम, पशुपतिको विगुत बोक्ने पुजारी, दूध बोक्ने ग्वाला, पत्रिका ल्याउने हकर, फूल गोड्ने माली, सुरक्षाका लागि खटाइएको अंगरक्षक यस्तै अनपेक्षित पात्रबाट राजनीतिका असामान्य खेलकुद हुन सक्छन् ।

यो जेलमा सुरुङ खनेर निस्किएको भजन गाउने समय होइन । जनयुद्धका पट्यारलाग्दा कथा हालेर मान्छे तान्ने घडी पनि होइन । उत्पीडित, महिला, आदिवासी, जनजाति, महिला, शोषक, सामन्त र उन्मुक्तिका कुरा गर्नु भनेको त कानमा झिर रोप्नु बराबर हो । २४ घण्टालाई भरपुर उपयोग गर्नुस् । विकास यसरी गर्नुस् कि निदाउने समय सिर्जनशील बनाउन सक्नुभयो भने एक वर्षमा दुई वर्षको समय सुविधा प्राप्त हुन्छ । सृजनशील मानिसले झारबाट पनि मह बनाउन सक्छ । कामको बदला काम दिनुस् । लिक्वान र महम्मद महाथिरका गुलिया कुरा गरेर फिंज काढ्दै भाषण गर्नेहरू युटर्न हुँदै भनून्– ‘विश्वमा नेता होस् केपी–पीके जस्तो ।’

०७ सालमा रानीको उपचारमा खटिएकी नर्स एरिगा ल्यूस्टागले समेत राजाको दूत भएर राजनीतिक परिवर्तनमा साथ दिएकी थिइन् । राजा त्रिभुवनले नर्ससंग निरीह हुँदै भनेका थिए– ‘ म नाम मात्रको राजा हुँ । यहाँ राणा परिवारले शासन गर्छ । प्रधानमन्त्री नै राजा हुन् । म कैदी हुँ । ताला मारिएको पाँच-पाँच ढोकाबाट म थुनिएको छु ।’ राजा त्रिभुवनले तिनै नर्सको माध्यमबाट राणालाई सर्प, राजदूतलाई चरा र चिट्ठीलाई फूलको कुट भाषा प्रयोग गरी खबर आदान-प्रदान गरेका थिए ।

जीवनको उत्तरार्द्धमा हरिभक्त कट्वाल भन्थे– ‘फूलको थुँगोजस्तो मनपर्ने मेरो बैंस थियो । सहरभरि धेरै उदास अनुहारहरूमा हाँसो उमार्न खोज्दाखोज्दै त्यो बैंस कहिले कहाँ र कसरी गुमाएँ आफैंलाई थाहा छैन । अब मैले आफैंसँग छ भने पनि कोही पत्याउन चाहँदैन ।’ जुनसुकै मानिसलाई पनि जिन्दगीमा अवसरले एकपटक छोप्छ । त्यो भेललाई कसरी उपयोग गर्ने उसको प्रारब्ध हो । नारायणगोपाल तबलाबादक थिए । कसैले उनको बादनमा हैन, गायनमा जादु छ भनिदिएपछि उनी गायक भए । राजनीति गर्नेहरूले तीनपटक सोच्नुपर्छ– ‘सलामी बढाउने कि मलामी ?’ खादा, अविर, बधाई, अभिनन्दन, मायाको चिनो हाम्रो सन्दर्भमा यस्ता अलमल हुन्, जसले थाहै नपाई हरिभक्तको बैंस समयले खाएजस्तै नेताको औकात सिध्याइदिन्छन् । रुसजस्तो मुलुकमा लेनिनको सालिक मिल्काएर अब्राहम लिंकनको सालिक स्थापना गरियो । इराकमा सद्दाम हुसेनको सालिक बनाएका शिल्पीहरूले आफ्नै पसिना विरुद्ध जेहाद छेडे ।

भ्रमको आयु एकदम छोटो हुन्छ । प्रख्यात रुसी संस्कृतिविद् भासिली क्लिउचेस्की भन्छन्– ‘ इतिहास आफैंले केही सिकाउँदैन । बरु आफूबाट केही नसिक्नेलाई दण्ड दिन्छ ।’ केपी सत्तामा उक्लिनु र शेरबहादुर देउवा झर्नु अघि ‘शेरबहादुर’ नामको फिलिम हलमा लाग्यो । त्यो फिलिमसंग देउवासंग तीन न तेह्र कुनै साइनो थिएन । बजारमा देउवाको चरम आलोचना भइरहँदा लागेको त्यो सिनेमा शेरबहादुर नाम भएकै कारण पानी पिउन पाएन भन्ने समीक्षकहरूको ठम्याइ छ । हाम्रो समाजमा राजनीतिको सामर्थ्य यसले पुष्टि गर्छ ।

विश्व कम्युनिष्टका जोडी मार्क्स र लेनिन भने झैं घरेलु राजनीतिमा प्रचण्ड र ओली जोडीको अग्निपरीक्षा सुरु भएको छ । यो जोडीले बलिङमा चौका हान्नु भनेको आफ्नै खाल्डो खन्ने कामको पूर्वार्द्ध ठाने हुन्छ । उनीहरूका लागि छक्का निर्विकल्प हो । एक समय थियो– ईटलीको मिलान शहरमा मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा लाखौंको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे, भीड त्यतै लाग्थ्यो । मानौं, उठ् भने उठ्, बस् भने बस् जस्तै । लाखौं युवाहरू सडकमा उत्रिएर ‘ड्यूचे ! ड्यूचे ! ! ड्यूचे ! ! !’ नारा लगाउँथे । मुसोलिनी त्यतिबेला ईश्वरको अवतार मानिन्थे । पाँच वर्षपछि मर्न तयार लाखौंको भीड मुसोलिनीविरुद्ध यसरी उत्रियो कि उनी र प्रेमिकालाई बीच सडकमा उल्टो झुण्ड्याएर लाखौं लाखले थुके ।

पूजा हुने मानिसको नभएर कीर्तिको हो । यी सबैको निष्कर्ष दुईचार दर्जन धुपौरे अगाडि पछाडि राखेर भगवान भएको भ्रममा परियो भने अरुलाई खेदेको दिनले तपाईंहरूलाई पनि खेद्छ । सुत्नुअघि दिनमा एकपटक पूर्वराजा ज्ञानेन्द्रको अनुहार सम्झिनुस् । बुद्धि नपुग्दा एउटा राजाको हविगत त त्यस्तो भयो भने त्यो तुलनामा तपाईंहरूको अस्तित्व के नै छ र ? याद राख्नुस्– साँझमा बालिएको दीयो हावाका कारण मात्र निभ्दैन, तेल सकिएर पनि निभ्छ ।

यो पनि पढ्नुहोस्-

महेन्द्रमालासँग हारेको प्रचण्डमाला

प्रतिक्रियाका लागि sanketkoirala07@gmail.com

shares