‘पर्सिसम्ममा सरकारले पूर्णता पाउने’

काठमाण्डौ, ३० फाल्गुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पर्सिसम्ममा सरकारले पूर्णता पाउने बताएका छन् ।

किराँती राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रीक किराँत राई संघले बुधबार काठमाण्डौमा गरेको कार्यक्रममा पर्सिसम्ममा सरकारले पूर्णता पाउने भन्दै जनताको अपेक्षा पनि क्रमश पुरा हुँदै जाने बताएका हुन् । उनले मुलुकको विकासमा सबै एक हुनुपर्ने भन्दै सरकारमा अन्य दलको सहभागिता हुने धारणा पनि राखे ।

अध्यक्ष प्रचण्डले सबै राजनीतिक पार्टी एक स्थानमा उभिएर विकास र समृद्धिको संकल्प गर्ने बेला आएको बताए । देशलाई आर्थिक विकासको नयाँ युगको सुरुवात गर्नु पर्ने उनको भनाइ छ । आधुनिक कलकारखानाको विकास र उत्पादनका क्षेत्रमा पनि प्रदेश नम्वर १ मा सबैको ध्यान रहेको उनले बताए ।

कार्यक्रममा आयोजकले एक नंबर प्रदेशलाई किराँत प्रदेश नामाकरण गर्ने अवधारणा पत्र प्रस्तुत गरिएको थियो भने सोही प्रदेशबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सांसदहरूलाई सम्मान गरिएको थियो ।