राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्विरोध निर्वाचित

काठमाण्डौ, ३० फाल्गुन । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका सांसद गणेश तिमिल्सिना निर्विरोध भएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभा बैठकले तिमिल्सिनालाई निर्विरोध भएको घोषणा गरेको हो । फागुन २८ गते भएको मनोनयनअनुसार अध्यक्षमा एमालेका तिमिल्सिना एकल दाबेदार रहेका थिए ।

सांसद खिमलाल भट्टराईले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी राखिएको प्रस्तावमा सुमनराज प्याकुरेल र दीनानाथ शर्माले समर्थन गरेका थिए ।

यस्तै राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन चैत ४ गते हुने भएको छ । बैठकले उपाध्यक्षको मिति तय गरेको हो । राष्ट्रियसभाको अर्को बैठक चैत २ गते बस्नेछ ।