सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्न सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाण्डौ, ३० फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर सदनमा सशक्त भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा कांग्रेस शीर्ष नेताहरूले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने समेत बताएका छन् ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले जनताले अहिले कांग्रेसलाई हेरिरहेकाले जिम्मेवार हुन सांसदहरूलाई निर्देशन दिए । अहिलेको चुनावमा कांग्रेसलाई भोट नहाल्ने जनतालाई पाँच वर्षपछिको चुनावमा भोट हाल्ने बनाउनु्पर्ने उनको भनाइ छ ।

सभापति देउवाले अहिले कांग्रेसमाछि चारैतिरबाट हमला भइरहेको भन्दै सदनबाट यसको विरोध गनुपर्ने उल्लेख गरे । त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले विरोधका लागि विरोध गर्ने नभई सदनमा तर्कसहितको विरोध गर्नुपर्ने धारणा राखे ।

पौडेलले कांग्रेसका सांसदहरू संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरूको काँधमा रहेको टिप्पणी गरे । सरकारका गतिविधिहरूले सर्वसत्तावाद लाद्न खोजेको भन्दै नेता पौडेलले सरकारले न्यायलय र संविधानलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छादार, महामन्त्री सशांंक कोइराला लगायत नेता तथा प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूको उपस्थिति रहेको थियो ।