Breaking News

प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङको निधन

काठमाण्डौ, ३० फाल्गुन । प्रसिद्ध भौतिकशास्त्री स्टिफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।

न्युटनपछिका ठूलो वैज्ञानिक मानिने ब्रिटेनका नागरिक हकिङले ‘ब्ल्याक् होल्’ र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए।  उनलाई खगोलशास्त्रका चर्चित वैज्ञानिक मानिन्छ ।

उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्। उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

२२ वर्षको हुँदा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी दुर्लभ रोग लागेको पत्ता लागेपछि चिकित्सकहरूले हकिङ धेरै वर्ष नबाँच्ने बताएका थिए । त्यो रोग लागेपछि उनी ह्वीलचेयरमा हिँडडुल गर्थे र उनी एउटा विशेष खाले यन्त्र ‘भ्वाइस सिन्थोसाइजर’को सहायताले मात्र बोल्न सक्थे ।

“हाम्रा प्यारा बुवा आज बित्नु भएकाले हामी धेरै दु:खी छौँ,” उनको छोराछोरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । उनका तीन छोराछोरी लुसी, रबर्ट र टिमले विज्ञप्तिमा भनेका छन्, “उहाँ महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो जसको काम र विरासत धेरै समयसम्म जिउँदो रहनेछ।”

उनीहरूले आफ्ना पिताको ‘साहस र दृढता’को प्रशंसा गर्दै उनको ‘प्रतिभा र हास्यकला’ले विश्वभरि मानिसहरूलाई उत्प्रेरित गरिराख्ने विश्वास व्यक्त गरेका छन् ।

“वहाँले एकचोटि भन्नुभएको थियो – ‘यदि तिमीले माया गर्ने मानिसहरूको घर नभएको भए यो त्यस्तो विशेष ब्रह्माण्ड हुने थिएन’। हामीले वहाँलाई सधैँका लागि गुमाएका छौँ।”

 हकिङबारे संक्षिप्त विवरण

  • जन्म: अक्सफोर्ड, इङ्ल्यान्डमा सन् १९४२, ज्यानुअरी ६
  • सन् १९५९ मा नेचुरल साइन्स अध्ययन गर्न अक्सफोर्ड विश्वविद्यालय प्रवेश। पछि क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि
  • सन् १९६३ मा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी रोग लागेको निदान भएपछि जम्मा दुई वर्ष मात्र आयु बाँकी रहेको बताइएको
  • सन् १९७४ मा ‘ब्ल्याक् होल्’बाट ‘हकिङ विकिरण’ निस्किने सिद्धान्तको प्रतिपादन
  • सन् १९८८ मा ‘अ ब्रीफ् हिस्ट्री अफ् टाइम्’ प्रकाशित। यो पुस्तकको एक करोडभन्दा बढी प्रति बिकिसकेको छ।
  • सन् २०१४ मा उनको जीवनकथामा आधारित चलचित्र ‘द थिअरी अफ् एभ्रिथिङ्’ को निर्माण
shares