Breaking News

दुर्घटनाबारे विमानस्थलमा पत्रकार सम्मेलन

काठमाण्डौ, २९ फाल्गुन । दुर्घटनामा परेको यूएस बाङ्ला एयरवेजका चालक र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद सार्वजनिक भएकोमा नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने भएका छन् ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलले मंगलबार गरेको पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरण महानिर्देशक सञ्जीव गौतमले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार पनि विमानको ब्ल्याक बक्स, एटीसीसँगको सम्वाद र उड्डयनसम्बन्धी आँकडा सार्वजनिक गर्न नमिल्ने भएकाले छानबिन गर्न लागिएको जानकारी दिए ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको यो दुर्घटनापछि आपतकालीन सेवा ३ मिनेटभित्रै पुग्नुपर्ने अन्तराष्ट्रिय मान्यता रहेपनि त्यसभन्दा चाँडै २ मिनेट भित्रै उद्दार टोली पुगेको अधिकारीहरूले दाबी गरे । विमानमा लागेको आगोले विमानस्थलको घाँसे क्षेत्रमा डढेलो लागेकाले आगो नियन्त्रण गर्न अलि कठिनाई भएको जानकारी पाएको भन्दै समयमा नै उद्धार कार्य सम्भव भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।

ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला एयरवेजको विमान दुर्घटनामा चालक दलका चारै जना सदस्यसहित ४९ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृतकहरूको शव आफन्तलाई बुझाउन केही समय लाग्ने अधिकारीहरूले बताएका छन् । शवको पहिचान हुन समय लाग्ने र डिएनए परीक्षणपछि मृतकको शव आफन्तलाई बुझाइनेछ ।

shares