हत्यामा संलग्न ३ अभियुक्त सार्वजनिक

पकंज शर्मा/झापा, २९ फाल्गुन । इलाका प्रहरी कार्यालय बिर्तामोडले सुनचादीं व्यवसायी साजन मुखियाको हत्याको आरोपमा संलग्न ३ जना अभियुक्तलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नैहरूमा बिर्तामोड नगरपालिका ८ का २९ वर्षीय पारस कुमार देव, बिर्तामोड नगरपालिका ८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दिपेश पौडेल र बिर्तामोड ३ सैनिकमोड बस्ने २३ वर्षीय प्रकाश भन्ने चिरन्जिवी ओली रहेका छन् ।

अनुसन्धानको क्रममा रिदी सिदी ज्वेलर्सका संचालक पारस कुमार देवको देवा ज्वेलर्सका संचालक साजन मुखियासित व्यवसायीक प्रतिष्पर्धा र लेनदेनको व्यवहारको कारण हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

फागुन २० गते सुन किन्ने बहानामा सुनियोजित रूपमा मे७प ८७५४ नम्बरको स्कुटीमा राखेर पारसदेवले आफनो खाली घर लगेका थिए । घरमा अघि नै पुगेका चिरन्जिवी ओली र दिपेश पौडेलले साजनलाई कुटपिट गरी बन्धक बनाई हत्या गरेका थिए ।

साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा सोमवार शव फेला परेको थियो ।

मृतक साजन मुखियाको शव पोष्टमार्टमपछि आजै दाहसंस्कार गरिएको छ ।