भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित, राई पराजित

काठमाण्डौ, २९ फाल्गुन । वाम गठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

मंगलवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २७५ र रार्इले ११ हजार ७३० मतभार प्राप्त गरेका छन् ।

राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा संघीय संसदका ३ सय २६ र प्रदेश सभाका ५ सय ३६ गरी ८ सय ६२ जनाले मतदान गरेका थिए । स्वतन्त्र सांसद डा. बाबुराम भट्टराईसहित प्रतिनिधिसभाका ५ र प्रदेश सभाका १३ सांसद मतदानमा अनुपस्थित थिए ।

त्यस्तै, निर्वाचनमा संघीय सांसदको ३ र प्रदेश सांसदको ५ गरी ८ मत बदर भएको छ । संघीय संसदको एक सदस्यको मतभार ७८ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।

भण्डारीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले मतदान गरेका थिए ।

भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।