Breaking News

रुपन्देहीमा श्वासप्रस्वास रोगीको संख्या बढ्दै

नरेश के.सी/भैरहवा, फाल्गुन । रुपन्देही जिल्लामा वायुप्रदुषण धेरै भएकोले श्वासप्रस्वासको रोगीको संख्या बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले सार्वजनिक गरेको जिल्लाको समग्र स्वास्थ्य अवस्था विषयक तथ्यांकमा जिल्लामा भेटिएका विभिन्न बिरामीमध्ये ६ दशमलब १ प्रतिशत बिरामी श्वास प्रश्वासको रोगी भएको देखिएको छ । कार्यलयका स्वास्थ्य अधिकृत टिकाराम अधिकारीले बताएअनुसार जिल्लामा दम, टन्सील, ब्रोनकाइटिस, निमोनियादेखि सामन्य रुघाखोकी जस्ता श्वास प्रश्वासका रोगीको संख्या धेरै भएको बताए ।

श्वास प्रश्वासको रोगीको संख्या बढ्दै जानुमा जिल्लामा वातवरणीय प्रभाव मूल्यांकन नै नगरी स्थापना गरिएका उद्योग धन्दा, उद्योग धन्दाले फैलाइरहेको कार्वन उत्सर्जन एवं धुलो धुँवा भएको निमित्त कार्यलय प्रमुख ओमप्रकाश गुप्ताले बताए । रुपन्देहीमा श्वासप्रश्वास पछि छाला रोग दोस्रो स्थानमा देखिएको छ । छालाको रोगको कारण पनि मुख्य रूपमा वायुप्रदुषण भएको जनस्वास्थयको तथ्यांकले देखाएको छ ।

यसैबीच रुपन्देहीमा स्वास्थ्यसम्बन्धी अनुगमन शून्य भएको भन्दैं पत्रकारहरूले स्वास्थ्य अधिकारीहरूको ध्यानकर्षण गराएका छन् । पत्रकारहरूले जिल्लामा अदक्ष व्यक्तिहरूले मापदण्ड विपरीत अवैध रूपमा ल्याब, एक्सरे, क्लिनिक, फार्मेसी, प्याथोलोजी मात्रै नभएर निजी अस्पताल सन्चालन गरेको भएतापनि जनस्वास्थ्य कार्यालय मुकदर्शक भएको भन्दैं आलोचना गरेका थिए ।

जवाफमा जनस्वास्थका सूचना अधिकारी कृष्ण पोखरेलले वर्तमान अवस्थामा जिल्ला जनस्वास्थ्य र स्थानीय सरकारको अधिकार तथा क्षेत्राधिकार स्पष्ट नभएकोले काम गर्न केही कठीनाई भएको जनाएका थिए । तथापि स्वास्थ्यमाथि खेलबाड गर्ने कामलाई निरुत्साहित गर्न कार्यालयले छुट्टै समिति नै बनाएको जानकारी गराउदैं त्यसलाई प्रभावकारी बनाउन अझै पहल गर्ने बताएका थिए ।

shares