ओली नेतृत्वको सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको जोलीको स्पष्टोक्ति

काठमाण्डौ, २९ फाल्गुन । भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता जोलीले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे ।

नेपाल र भारतबीचको सम्बन्ध रोटी र बेटीको सम्बन्ध भएकोले यो ऐतिहासिक सम्बन्ध भएको उनको दाबी थियो । उनले पछिल्लो पटक देखिएको नेपाल–भारत सम्बन्धको समस्यामा भारतको कुनै हात नरहेको जिकिर गरे । उनले आफूहरू नेपालमा जहिल्यैपनि विश्वास र आन्तरिक समझदारीको आधारमा दलहरू समग्रतामा र सह–अस्तित्वको भावानाले अघि बढून् भन्ने पक्षमा रहेको जिकिर गरे ।

नेपालमा भैरहेको धर्म परिवर्तनबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नमा उनले कुन धर्म मान्ने हो वा नमान्ने हो, यो नेपालीहरूले आँफै तय गर्ने विषय भएको धारणा राखे । पैसा वा प्रलोभनको आधारमा नेपालमा भएको धर्म परिवर्तनबारे अघिल्लो पटक नेपालका पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, झलनाथ, माधव नेपाल, देउवा र ओलीसँग कन्र्सन राखेको उनले बताए ।