Breaking News

उद्योगी व्यपारीले नै गरे भैरहवा बजार बन्द

नरेश के.सी./भैरहवा, २९ फाल्गुन । बन्दको विरोध गर्ने उद्योगी व्यपारीले नै मंगलबार भैरहवा बजार बन्द गराउदैं हिडेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार भैरहवा बजार बन्द गरिएको हो ।

संघका नवनिर्वाचित कार्यसमिति सदस्य हरिश सेठिया (पिन्टु) लाई गएराति गोली प्रहारको प्रयास गरिएको विरोधमा संघमा आवद्ध पदाधिकारी तथा सदस्यहरूले मंगलबार भैरहवा बजारमा व्यवसायीको शान्तिसुरक्षाको माग गर्दै बजार बन्द गराउदैं हिडेका थिए । संघको आहवनलाई उद्योगी व्यवसायीले साथ दिदैं दिनभर भैरहवा बजार बन्द गराएका हुन् ।

व्यवसायी सेठीयामाथी गोली प्रहार भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्रेर कारबाही गर्दै व्यवसायिक सुरक्षाको प्रत्याभूति गराउन माग गर्दै उद्योग वाणिज्य संघकै आयोजनामा बजार बन्द गर्न बाध्य भएको संघका नवनिर्वाचित महासचिव नेत्र प्रसाद आचर्यले जानकारी दिए ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवाल, संघका पुर्व अध्यक्षहरू ओमकार गौचन, विष्णु शर्मा, रामकुमार शर्मा, नेपाल सुनचादी व्यवसायी महासंघका उपाध्यक्ष प्रेम कुमार सेन्चुरी लगायतको नेतृत्वको टोलीले भैरहवा जस्तो क्षेत्रमा बारम्बार व्यवसायीमाथि सुरक्षाको खतरा बढ्नु नकारात्मक भएको भन्दैं प्रशासनको ध्यानकर्षणसमेत गराएका थिए ।

यसैबीच जिल्ला प्रहरी कार्यलय रुपन्देहीले व्यवसायी सेठीयामाथि गोली प्रहार गर्ने व्यक्तिलार्इ पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । प्रहरीका अनुसार भारतीय नागरिकले सेठीयामाथि चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । भारतको मोनजोत ग्राम पन्चायत , नौतनवा निवासी ४६ वर्षीय रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मुसलमानबाट घरेलु कटुवा पिस्तोल १ थान, फायर भएको खोका १ थान , गोली १ थान , सामसुग मोबाइल एकथान समेत बरामद गरेको छ ।

गोली प्रहार गरी उनी युपी ५६ ई ४१४९ नम्बरको डिस्कभर मोटरसाईकलबाट भाग्दै गर्दा सिनपा ३ खजहना चिल्डेन पार्कमा स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो । उनी भारततर्फ भाग्दैं गरेका थिए । उनको पछाडि बसेका अर्का व्यक्ति भने भागेका छन् । उनको खोजतलासी भइरहेको प्रहरीले जनाएको छ ।

बैंकरोड भैरहवामा करणी इन्टरप्राइजेज सन्चालकसमेत रहेका ३८ वर्षीय सेठीया मुलतः मोबाइल व्यवसायी हुन् । उनी २ दिन अगाडि सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा सबैभन्दा बढी मत लिएर निर्वाचित कार्यसमिति सदस्यसमेत हुन् । आफ्नो पसल बन्द गरेर सेवापथको बाटो हुदैं निवासतर्फ जादैं गर्दा आफूमाथि गोली प्रहार भएको सेठीयाले जनाएका छन् ।

सेठीयाले आफुलाई गोली प्रहार गर्ने व्यक्तिलाई कहिल्यै नचिनेको पनि बताए । उनले भने “मैले तिनीहरूलाई चिन्दिन र मलार्इ किन गोली प्रहार गरियो बुझ्न सकेको छैन । ”

शिवरात्रीको समयमा पनि सेठीयामाथी गोली प्रहार भएको थियो । त्यतिबेला उनले सो घटनालाई गुपचुप राखेका थिए । यता प्रहरीले सेठीयामाथिको गोली प्रहार घटना आपसी लेनदेन भएको बताएको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने ‘हामीले प्रारम्भिक रूपमा बुझ्दा सेठीयाले हुण्डीको कारोबार पनि गर्ने गरेको र यस्तै प्रकृतिका अन्य कारोबारमा लेनदेन नमिल्दा गोली प्रहार भएको देखिएको छ । अरु तथ्य केही दिनमै अनुसन्धानबाट खुल्छ । ”

यता सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रामकुमार शर्माले पीडित व्यवसायीलाई सुरक्षा दिनुको साटो अनुसन्धानको नाममा रातभर जिप्रका भित्र राख्दा मानसिक रुपमा टर्चर दिने काम गरेको भन्दैं प्रहरी प्रशासनप्रति आक्रोस व्यक्त गरे ।

स्मरणहोस् केही महिना पहिले भर्खरै संघको अध्यक्षमा निर्वाचित कुल प्रसाद न्यौपानेमाथि उनकै व्यवसायिक प्रतिष्ठान मुक्तिनाथ खाद्य उद्योग गल्लामण्डीमा गोली प्रहार भएको थियो ।

shares