अखिल क्रान्तिकारीद्वारा ओएसिस मेडिकल कलेज चितवन खारेजीको माग

काठमाण्डौ, २९ फाल्गुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले चितवनको ओएसिस मेडिकल कलेज खारेज हुनु्पर्ने माग गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अखिल क्रान्तिकारीले विद्यार्थीहरूको जीवनमाथि खेलवाड गरेको भन्दै उक्त कलेजको सम्बन्धन तत्काल खारेज गर्न माग गरेको हो । क्रान्तिकारीका केन्द्रीय सदस्य बालकुमार केसीले ओएसिस कलेजमाथि तत्काल अनुगमन गरी आवश्यकता अनुसार कारबाही गर्न माग गरेका छन् ।

उनले भने,‘प्राविधिकतर्फको सबैभन्दा ठूलो र विश्वास गरिएको पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सरकारले कम्तिमा १ सय जना विद्यार्थीहरूको जीवनमाथि खेलवाड गरेका छन्, हामी यस कार्यको विपक्षमा छौँ, तत्काल सरकारले अनुगमन गरेर खारेज नगरे हामी कडा आन्दोलन गछौँ, नर्सिङ र बिएनमा अध्ययन पूरा गरेका सय जना विद्यार्थीको भविष्य सुनिश्चित गर्नुपर्छ ।’

आफ्नो संगठन विकृति र विसङ्गतिको विरुद्धमा रहँदै आएको भन्दै अध्यक्ष केसीले ओएसिस मेडिकल क्लेजले मापदण्ड पूरा नगरी विद्यार्थीबाट पैसा असुलेको र र अकुत सम्पति आर्जन गरेको आरोप लगाएका छन् । त्यस्तै पत्रकार सम्मेलनमा नर्सिङ लाईसेन्सको परीक्षा दिनबाट वञ्चित मकवानपुर हेटौंडाकी तनुजा श्रेष्ठले आफ्नो भविष्यमाथि ओएसिस क्लेजले खेलवाड गरेको आरोप लगाएकी छन् ।