September 23, 2017

कास्कीमा मतदान प्रकृया अन्तिम चरणमा

जीवन सुवेदी / पोखरा, ३१ वैशाख । देशकै सबैभन्दा ठूलो महानगर रहेको कास्की जिल्लाको पोखरा लेखनाथमा शान्तिपुर्ण ढंगले मतदान भइरहेको छ ।

दिउँसो ३ बजे सम्म कास्कीमा ७० प्रतिशत मतदान भइसकेको र मतदान अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए । मतदान कार्य पनि शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको सुवेदीले बताए ।

कास्कीमा १ सय ५० वटा मतदान स्थलमध्ये २ सय ८८ मतदान केन्द्र कायम छन् । सबैभन्दा बढी पोखरा महानगरपालिकामा ९८ वटा मतदान स्थलमध्ये २ सय १० मतदान केन्द्र छन् । यस्तै, अन्नपूर्णमा १५ स्थलमध्ये २१ मतदान केन्द्र, माछापुच्छ्रेमा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमध्ये १५ मतदान केन्द्र कायम छन् ।

त्यसैगरी पोखरा महानगरपालिकामा १ हजार २ सय ५८, मादीमा १ सय २३, अन्नपूर्णमा १ सय २६, माछापुच्छ्रेमा १ सय २६ र रुपा गाउँपालिकामा ९० कर्मचारी खटिएका छन् ।

जिल्लाका पाँच तहमा कुल ७२ वटा वडाबाट तीन सय ७० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । पछि दलित र अल्पसंख्यक गरी ११ जना मनोनीत भई प्रतिनिधि सख्या तीन सय ८१ पुग्नेछ ।

महानगरमा १ प्रमुख–१ उपप्रमुख, ४ गाउँपालिकामा ४ अध्यक्ष–४ उपाध्यक्ष, महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १ सय ४४ वडा सदस्य, ७२ महिला सदस्य र ७२ दलित महिला सदस्य निर्वाचित हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकामा एक सय ७० जना, मादीमा ६४, अन्नपूर्णमा ५९, माछापुच्छ्रेमा ४९ र रुपा गाउँपालिकामा ३९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लामा मतदाताको संख्या २ लाख २४ हजार ८ सय ११ छ ।