सुन व्यवसायीको हत्या, ३ जना पक्राउ

पकंज शर्मा/झापा, २९ फाल्गुन । सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

यही फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा आज इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको थियो । बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै बाहिरिएका थिए । मृतक साजन मुखियाको शव पोष्टमार्टमका लागि मेची अंचल अस्पताल ल्याइएको छ ।

प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पारस देवसहित ३ जनालाई पक्राउ गरिसकेको छ । आजै पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई सार्वजनिक गरिने प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिएका छन् ।