Breaking News

राष्ट्रपति निर्वाचन: मतदान जारी

काठमाण्डौ, २९ फाल्गुन । राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान संघीय संसद भवन नयाँ बानेश्वरमा भइरहेको छ ।

पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठिक १० बजे गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका थिए । मतदानको समय अपराह्न ३ बजेसम्मका लागि तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन् ।

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन् ।

भण्डारीलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरप, राजपा, राप्रपा लगायतका दलको समर्थन छ । बहुमत भण्डारीको पक्षमा भएकाले भण्डारी नै राष्ट्रपतिमा दोहोरिने पक्का छ ।

shares