राष्ट्रपति ट्रम्प नेता किमसँग वार्ता गर्न तयार, तर प्योङयाङको जवाफ अाएन

काठमाण्डौ, २८ फाल्गुन । उत्तर कोरियाली नेता किम जङ-उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच हुने भनिएको भेटवार्ताबारे प्योङयाङबाट कुनै प्रतिउत्तर नअाएको दक्षिण कोरियाले बताएको छ ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले प्रत्यक्ष वार्ताका लागि उत्तर कोरियाली निमन्त्रणा स्वीकार गरेको समाचार अाएको थियो । नेता किम निसस्त्रीकरणमा प्रतिबद्ध रहेको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।

दुर्इ नेताबीच हुने भनिएको वार्ताको स्थान एवं एजेण्डाबारे कुनै सहमति भैनसकेकोले उक्त वार्ताको योजनासम्बद्ध विवरणहरू अझै अस्पष्ट छन् । वार्ता सफल भएमा दुर्इ देशबीच बढ्दो तनावको अन्त्य हुनुको साथै सम्भावित विनाशबाट मुक्ति पाउने अाशा गरिएको छ ।

पछिल्लो समय उत्तर कोरियालार्इ अाणविक हतियार विकास र प्रयोगमा रोक लगाउन विभिन्न निकाय र राष्ट्रहरूका उच्च पदस्थ अधिकारी तथा प्रमुखहरूबीचको भेटघाट र दौडधूप बढेको देखिन्छ । यसैक्रममा ट्रम्पसँग भेट गरेपछि दक्षिण कोरियाली उच्च अधिकारीहरू त्यहाँका नेताहरूलार्इ भेटवार्ताबारे ब्रिफिङ गर्न चीन र जापान पुगेका छन् ।