टस जितेर हङकङले दियो नेपाललार्इ बलिङ गर्ने निम्तो

काठमाण्डौ, २८ फाल्गुन ।  आइसिसी एकदिवसीय विश्वकप छनोटको आफ्नो अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने निम्तो पाएको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब मैदानमा टस जितेर हङकङले ब्याटिङ रोजेको हो ।

प्रतियोगितामा ३ खेल खेलेको नेपालले एक खेल पनि जितेको छैन । नेपाल समूहको अन्तिम स्थानमा रहेको छ भने हङकङले समान खेलबाट अफगानिस्तान विरुद्ध ऐतिहासिक जीत हात पार्दै २ अंक बटुलेको छ ।

हङकङलाई पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गर्ने बाटो खुला राख्ने उदेश्यसहित नेपाल मैदानमा उत्रिन लागेको हो । हङकङ पनि जीत हात पार्दै सुपरसिक्समा स्थान बनाउन चाहन्छ । नेपाल हङकङबीच प्रतियोगिता अघि अभ्यास खेलमा तालिका रहेपनि वर्षाको कारण खेल हुन सकेको थिएन।

झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ । एसोसिएट राष्ट्रहरू स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ ।

प्रतियोगितामा अफगानिस्तानलाई पराजित गरेको हङकङ बलियो टिम हो । हङकङले जिम्बावेविरुद्ध पनि राम्रो ब्याटिङ गरेको थियो।यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ। सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि प्ले अफ हुनेछ।

उक्त प्ले अफ्मा सातौं स्थान हात पार्ने टोलीले एक दिवसीय मान्यता पाउनेछ । यो बाटोबाट नेपाललाई एक दिवसीय मान्यता पाउन युएई र हङकङमध्ये कम्तिमा एक टोली सुपर सिक्समा पुग्नु हुँदैन । प्रतियोगितामा ब्याटिङमा सुधार गरे मात्र नेपालले जित निकाल्न सक्नेछ। कप्तान पारस बाहेक अन्य खेलाडीले प्रतियोगितामा सम्झनलायक ब्याटिङ गर्न सकेका छैनन् ।