रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब दुवैले यस वर्षको उपाधि चुम्ने दावी

झापा, २७ फाल्गुन । झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब दुवैले यस वर्षको उपाधि चुम्ने दावी गरेका छन् ।

आइतबार पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कडा मिहनेत र दर्शकको समर्थन खेल जित्ने आधार भएको बताएका छन् । कटवालले आर्मी सशक्त टिम भएपनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले उसलाई हराएर उपाधि हात पार्न सकिने बताए ।

प्रशिक्षक कटवालले ओभर एजका कारण स्ट्राइकिङ लाइनमा केही समस्या रहेको बताउँदै त्यसलाई पुर्ति गर्न बिश्वास श्रेष्ठलाई यसै वर्षदेखि अनुबन्ध गरेकाले खेल जित्ने दावी गरेका छन् । झापा ११ का टीम क्याप्टेन योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पुरा गर्ने दावी गरे ।

आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीको टिममा झापाको भन्दा धेरै जना राष्ट्रिय टिममा सहभागी खेलाडी रहेका छन् । झापाको टीम सशक्त रहेको भएपनिे यो सिजनको सातौं उपाधि कब्जा गर्ने दावीसमेत थापाले गरेका छन् । आर्मीले यसवर्ष देशका विभिन्न स्थानमा भएका गोल्डकपमध्ये ६ वटा गोल्डकपको उपाधि जितेको छ ।

आर्मीका क्याप्टेन भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताए । उनले यो वर्ष अतिरिक्त समय थपिनुपर्ने बताए । निर्धारित ९० मिनेको खेलमा बराबरी भए सिधै टाइब्रेकरमा लगिने गरेको छ । उनले समय थप गरेर खेलाउन आग्रह पनि गरे ।

झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने आर्मीले विभागीय टिम नेपाल पुलिस र मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।