जनताले भाषण होइन, एक्सन खोजेका छन्: प्रचण्ड

काठमाण्डौ, २७ फाल्गुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सबैखाले बेथितिको अन्त्य गर्न दृढ भएर अघि बढ्न आव्हान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावपछि बाल्दै प्रचण्डले नेपाली जनताले बेथिति, विसंगति, विकृतिका विरुद्ध सुसाशन र समृद्धिको पक्षमा मत दिएको बताए । उनले सरकारबाट जनताले भाषण नभई एक्सन खोजेको प्रष्ट पारे ।

प्रतिनिधिसभा र सरकारका अगाडि ऐतिहासिक चुनौती र अवसर रहेको बताउँदै अध्यक्ष प्रचण्डले अराजकता, बेथिति र विकृति होइन, विकासको नयाँ युग सुरु हुनुपर्छ भनेर जनताले भरोसा गरेर मत दिएको उल्लेख गरे ।

अहिलेको जस्तो बलियो सरकार सितिमिति बन्न नसक्ने भन्दै प्रचण्डले देश बनाउने र भ्रष्टाचार उन्मूलन गर्ने प्रमुख अभिभारा वाम गठबन्धनको काँधमा आएको बताए । लोकतन्त्र प्राप्तिपछिका १० वर्षमा १० वटा सरकार बनेको स्मरण गर्दै प्रचण्डले १० मध्ये ८ वटा प्रधानमन्त्री बनाउन आफ्नो भूमिका रहेको धारणा राखे ।

अध्यक्ष प्रचण्डले कैलालीमा बोक्सीको आरोपमा एकजना किशोरीमाथि भएको जघन्य घटना र ८ वर्षीया किशोरी बलात्कृत भएको घटना उल्लेख गर्दै दोषीमाथि तत्काल एक्सनमा उत्रिनुपर्नेसमेत बताए ।