कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छ: गच्छदार

काठमाण्डौ, २७ फाल्गुन । नेपाली कांग्रेसका नेता विजय गच्छदारले प्रधानमन्त्रीको हनिमुन पिरियडलाई मूल्यांकन गर्दै प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावपछि संसदको बैठकमा सम्बोधन गर्दै नेता गच्छदारले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले कांग्रेसले संसदीय पद्धतिलाई कमजोर हुन नदिनेसमेत बताए ।

विकासका पुर्वधार निर्माणका लागि प्रधानमन्त्रीबाट आएका प्रतिबद्धता सकारात्मक रहेको भन्दै उनले समृद्धिको लागि सरकारले सारेका प्रतिबद्धतामा सहयोग गर्ने उल्लेख गरे । गच्छदारले सहमतिसहितको सरकार गठन गर्ने प्रयास भएको भन्दै शुभकामनासमेत व्यक्त गरे ।

नेता गच्छदारले अहिलेको लोकतन्त्रमाथि प्रहार गर्ने ठाउँ नराख्न आग्रह गर्दै प्रतिपक्षमा नै रहने धारणा राखे ।