प्रतिपक्षीका रूपमा नभर्इ सहयोगीको रूपमा अघि बढ्न प्रधानमन्त्रीको आव्हान

काठमाण्डौ, २७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिपक्षीका रूपमा नभएर सरकारको सहयोगीको रूपमा विकास र समृद्धिको यात्रामा अघि बढ्न आव्हान गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने भन्दै त्यसका लागि सबैलाई मत दिन आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा सबै एकजुट भएर अघि बढ्नु पर्ने बेलामा सरकारलाई दम्भ देखाउने समय र अल्मलिने सुविधा नभएको बताए ।

बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक, विभिन्न अवस्था, विश्वास, विविधतायूक्त भूगोलमा बस्ने जनताबीच समानतामूलक समाज स्थापना गर्ने उनले बताए । उनले जनताको चाहना र माग अनुसार सरकार चल्ने भएकाले सबै सांसदलाई खुला रूपमा सरकारसँग जनताका पक्षमा काम गर्न तयार रहन समेत आग्रह गरे ।

प्रधानमन्त्री ओलीले चुनावकाबेला भएका तिक्तता बिर्सिएर देश र जनताप्रति एकताबद्ध भएर अगाडि बढ्न पनि सबैलार्इ आग्रह गरे । सम्बोधनकै क्रममा उनले कैलालीको घोडाघोडीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारवाही गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।